काठमाडौं- बल्खुस्थित जनप्रशासन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ।
एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई व्यवस्थापन संकायका डिन प्रा डिल्लीराज शर्माको दबाबमा उत्तीर्ण गराएको भन्दै स्ववियुले तालाबन्दी गरेको जनाएको छ। राजनीतिक दबाबमा परी लिखित परीक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तीर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रकाशन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदीले जानकारी दिए।
त्रिवि जनप्रशासन केन्द्रीय विभागले मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन। तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरेको पाइएको सुवेदीले बताए।
लिखितमा अनुत्तीर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताएका छन्। ‘एमफिल जस्तो उच्च तहको अध्ययनमा मेरिटका आधारमा विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। यसको छिनोफानो नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।