काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत, मोरङको पुर्पक्षको आदेशले थुनामा राखिएका अभियुक्तहरु सर्वोच्च धाउन थालेका छन्। उच्च अदालत, विराटनगरबाट भएको आदेश चित्त नबुझेपछि उनीहरु सर्वोच्च पुगेका हुन्।
सर्वोच्चमा हालसम्म पाँच जना अभियुक्तहरुले मुद्दा दर्ता गराएका छन्।
सुन तस्करी प्रकरणमा जिल्ला र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि डिएसपी संजयकुमार राउत, रामचन्द्र तिवारी, सम्विरप्रसाद तोलाङ्गे, हेमन्त गौतमलगायत सर्वोच्च पुगेका हुन्। उनीहरु विरुद्धको मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाउने आदेश जारी गरिसकेको छ। तोलाङ्गे र गौतमको मुद्दामा सोमबार मात्रै न्यायाधीश दिपकुमार कार्कीको इजलाशले फाइल मगाउने आदेश दिएको छ।
यता सरकारले पनि उच्च अदालत विराटनगरवाट तारेखमा रिहा भएका प्रहरी अधिकृतहरु गोविन्द निरौला र विकासराज खनालविरुद्ध पुनरावेदनको निवेदन दर्ता गराएको छ।
जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिँदै उनीहरुले सर्वोच्चमा १७ नम्बरको निवेदन दिएका हुन्। तल्लो अदालतको आदेश चित्त नबुझे माथिल्लोमा जान पाउने सुविधाअन्र्तगत उनीहरु सर्वोच्च आएका हुन्।
करीब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोप पत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।