इटहरी– नेपालका मन्त्री तथा उच्च पदस्थ नेताहरू इसाई धर्म प्रचारक संस्थाको आयोजनामा काठमाडौंमा सहभागी हुँदै गर्दा केही विदेशी नागरिक भने भागवत गीताको प्रवचन दिन इटहरी आइपुगे। 'नेपाली संस्कृति विदेशी प्रस्तुति' नाम दिइएको कार्यक्रममा विदेशी नागरिकले पूर्वीय दर्शनको बारेमा चर्चा गरेका हुन्।
सरकारले क्रिस्चियन धर्म प्रचारक संस्थालाई सह-आयोजककै रुपमा सघाएको चौतर्फी आलोचना भइरहँदा केही विदेशी पाहुना भने पूर्वीय दर्शनको वैज्ञानिक अभ्यासबारे प्रवचन दिइरहेका छन्। ‘नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ’ (इस्कोन) को शाखा ‘हरे कृष्ण आध्यात्मिक प्रतिष्ठान इटहरी’ ले आयोजना गरेको नेपाली संस्कृति विदेशी प्रस्तुति कार्यक्रममा श्रीमद्भागवत गीताको वैज्ञानिक अभ्यासको बारेमा चर्चा गरिएको हो।

इटहरीमा अयोजीत कार्यक्रममा बेलायती गुरु ‘त्रिदण्डी सन्यासी श्री श्रीमती महाविष्णु स्वामी महाराज’ले हरे कृष्ण महामन्त्रको आधुनिक युगमा प्रयोग बारे चर्चा गरे। नेपाली भाषामा अक्कल राख्न नसके पनि दोभासेको माध्यम बाट उनले प्रवचन दिएका हुन्।
‘गुरुब्रह्म, गुरु विष्णु, गुरुदेवो महेश्वर, गुरु साक्षात् परम्ब्रह्म तस्मै श्री गरुवेनम:’ श्लोकबाट प्रवचन सुरु गरेका उनले पूर्वीय दर्शनले विश्व लाई नेतृत्व गर्न सक्ने औंल्याए।

आफू सुरुमा क्रिस्चिएन भए पनि बाइबलमा भगवान् र मानवप्रति धमिलो चित्र देखाइएकोले खासै चित्त नबुझेको उनको भनाइ थियो। "म कलेज पढ्दा मेरो साथी लन्डनमा रहेको राधाकृष्ण मन्दिरमा जान्थ्यो। हामी सधैं निराश र बेखुसी हुँदा पनि उसको अनुहासमा सधैं खसी पाउँथ्यौ,’ उनले भने, ‘उनको खुसीको कारण खोज्दै जाँदा भागवत गीताको अध्ययन र पूर्वीय दर्शनको प्रभाव पाइयो। त्यसपछि मैले पनि भागवत गीता अध्ययन गर्न थाले अहिले म जति खुसी कोही छैन जस्तो लाग्छ।’
‘बाइबलले स्वार्थी प्रेमको कुरा गर्छ भने गीताले प्रेम भनेको निस्वार्थ समर्पण हो भन्छ,’ उनी भन्छन्, ‘भगवान् कृष्णले दिएको उपदेश अहिलेको समयमा पनि त्यतिकै प्रभावकारी छ।’
इटहरीमा अयोजित कार्यक्रममा राधाकृष्ण मन्दिर, हस्पिटल रोड, जनता स्कुल, दीपेन्द्र चोक, मेन रोड परिक्रमा गरेको थियो। सांस्कृतिक प्रवचन दिन बेलायत, ब्राजिल, इङ्ल्यान्ड, रसियाबाट कलाकारहरू इटहरी आएका हुन्। उनीहरूले नेपाली भाषामै भजन गाएका थिए।

आफू देवी दासी भएको बताउने इङ्ल्यान्डकी एक युवती पूर्वीय दर्शनले जीवन र समाज बुझाएको बताइन्।
सुराभी गुन्जा देखी दासी नेपाली नाम राखेकी उनी आफू मानवशास्त्रको विद्यार्थी रहेको र नेपाली संस्कृतिको अध्ययन गर्ने क्रममा भागवत गीता बाट प्रभावित भएको बताउँछिन्।
‘भगवान् कृष्णले एक व्यक्तिदेखि सम्पूर्ण विश्व कसरी चलाउन सकिन्छ भन्ने ज्ञान भागवत गीता मार्फत बाँड्नुभएको छ,’ उनले भनिन्, ‘नेपालीहरू यति धेरै संस्कृति र दर्शनको धनी भएर पनि यसलाई बाहिर ल्याउने कन्जुस्याइँ गर्नु आश्चर्यको कुरा हो। यसले नेपालीलाई नै घाटा गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।