जाजरकोट- बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन्। पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम नरोकिएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ।
बालबालिकाको स्थिति प्रतिवेदनअनुसार विवाहित ६७ हजार ३३२ मध्ये ७४ प्रतिशतले बालविवाह गरेको उल्लेख छ। ४९ हजार ८६२ जनाले १९ वर्षमुनिको उमेरमा विवाह गरेको पाइएको छ। प्रतिवेदनअनुसार १५ वर्षदेखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका छन्।
त्यस्तै, १० वर्षकै उमेरमा विवाह गर्ने १ सय ६५ जना देखिएका छन् भने १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको सङ्ख्या पाँच हजार ६६८ रहेको छ।
बालविवाह गर्नेमा बालक भन्दा बालिका बढी रहेका छन्। महिला तथा बालबालिका कार्यालय जाजरकोटको एक तथ्याङ्कअनुसार जिल्लामा बालविवाह गर्नेमध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक रहेका छन्। यसै सिलसिलामा जिल्लामा पहिलोपटक बालिका सम्मेलन गरी बालविवाह न्यूनीकरणका लागि शुरुआत गरेको छेडागाड नगरपालिकाले जनाएको छ।
छेडागाड नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पाँचताराको संयोजनमा जिल्लामा पहिलोपटक बालिका सम्मेलनको आयोजना गरी बालविवाह न्यूनीकरणको अभियान थालिएको छ। त्यस्तै नलगाड नगरपालिकाले ‘बालविवाह न्यूनीकरणका, २०७५’ आचारसंहिता पारित गरी काम सञ्चालन गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए।
एक देखि १३ नं वडामा प्रत्येक वडामा एउटा बस्ती पर्ने गरी काम शुरु गरिएको उहाँले बताउनुभयो। वडा अध्यक्षको संयोजकत्वमा बालविवाह न्यूनीकरण गर्न १३ वटा बस्ती छनोट गरी नमूना गाउँ बनाउने अभियानमा लागेको उनको भनाइ छ।
सम्मेलनमा सहभागी बालिकाले बालविवाह रोकथामका लागि जिल्लाभरि नै स्थानीय सरकारले अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय सरकार नै सक्रिय हुनुपर्ने माग गरेका छन्। कम उमेरमै विवाह गरेका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको शिक्षक बताउँछन्। घरायसी काम, गरीबी र आधुनिक प्रविधिको दुरूपयोगले बालविवाह गर्नेहरूको सङ्ख्या बढेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नपा– ८ का प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।
सरोकारवाला निकायले विद्यालयस्तरमा पनि परामर्शमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रअ सिंहले बताउनुभयो। हरेक शैक्षिक सत्रमा कक्षा छोड्नेको अवस्था विश्लेषण गर्दा त्यसको मूल कारण बालविवाह नै भएको उनले उल्लेख गरे।
बालविवाहका कारण समाजमा विकृति बढ्नुका साथै सम्बन्ध विच्छेदका घटना पनि अत्यधिक मात्रामा बढ्दै गएको जनाइएको छ। जिल्ला अदालत जाजरकोटले गत आर्थिक वर्षको मुद्दा फछ्र्यौटबारे सार्वजनिक गरेको एक तथ्याङ्कमा सम्बन्ध विच्छेद भएका ५१ वटा जोडीमध्ये ४१ जोडीको उमेर २० देखि २३ बीचको रहेको छ। ती सबै जोडीको विवाह १९ वर्ष नहुँदै भएको प्रतिवेदनमा उल्लेख छ।
सानैमा विवाह गरेका कारण गरीबी बढेको र परिवारमा असमझदारी हुँदा विवाह गर्ने उमेरमा ती जोडीको सम्बन्ध विच्छेद हुने गरेको नेपाल बारका अध्यक्ष भीमबहादुर सिंहको भनाइ छ।
सानै उमेरमा विवाह गर्ने र उमेर बढ्दै गएपछि पश्चात्ताप गरेर सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।