जनकपुर- जाडो बढेका कारण महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी बिरामी पर्न थालेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि थप समस्या देखिएको छ।
कारागारमा पुरूष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन्। अहिले महिला कक्षमा एक आश्रित बालिकासहित ४६ जना र पुरूष कक्षमा ४ सय ५० गरी कुल ४ सय ९६ जना कैदीबन्दी छन्।
‘ख’ श्रेणीको यस कारागारको बन्दी क्षमता १ सय ३५ जनाको रहेको छ। अहिले क्षमता भन्दा झन्डै चौगुणा बढी कैदीबन्दीहरू खाँदिएर बस्न बाध्य छन्।
कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारा मात्र हुँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन लामो समयसम्म पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै समस्या भइरहेको कैदीबन्दीहरूको गुनासो छ।
महिला कक्षका ४६ बन्दीका लागि एक धारा र एक शौचालय मात्र छ।

पुरूष कक्षका ४ सय ५० कैदीबन्दीका लागि ४ धारा र ४ वटा शौचालय मात्र हुँदा दिसापिसाबका लागि लामो समय कुर्नुपर्ने बाध्यता रहेको एक कैदीले गुनासो गरे।
पछिल्लो पटक जाडो बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा थप समस्या झेल्नुपरेको छ। ८० वर्षीय मटर साफी भन्छन्, 'जाडो बढ्दैछ। न्यानो लुगा र उचित खानपिनको व्यवस्था छैन।'
कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ७० वर्षीय कैदी रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ। साफी र मुखियामात्र नभएर जाडो बढेसँगै कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। कारागारमा दम, रूघाखोकी, ज्वरो, निमोनिया र लुतो लगायतका रोगका बिरामी बढेको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रमुख सौभेन्द्र ठाकुरले भने कैदी थपिएको अनुपातमा मौसम अनुसारका लुगा र उपचार खर्च नआउँदा समस्या हुने गरेको बताए।
वर्षको दुई पटक मौसम अनुसारको कपडा र जाडोमा कम्बल दिने चलन भए पनि ठिक समयमा सामग्री नपाउँदा बढ्दो जाडोमा कैदीको विजोग नै भएको छ।
‘कोहीकोहीको घरबाट कपडा आउँछ र सजिलो हुन्छ,’ पुरूष कक्षका चौकीदार श्रीनारायण महतोले भने, ‘घर परिवारले वास्ता नगरेका कैदीको चाहिँ हरिबिजोग नै छ।’
अहिले दिनहुँ नियमित उपचार लिनेको सङ्ख्या १ सय २५ को हाराहारीमा रहेको कारागार प्रमुख समेत रहेका स्वास्थ्यकर्मी ठाकुरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।