काठमाडौं- वैदेशिक रोजगारीका लागि जाने कामदार ठगीमा परे त्यस्ता कामदारलाई सम्बन्धित म्यानपावरले बिगो भराउने कानुनी व्यवस्था छ। कामदारलाई बिगो भराउने प्रयोजनकै लागि म्यानपावर कम्पनीले धरौटी राख्नुपर्छ। तर, ती कम्पनीले राख्ने धरौटी रकमले पीडित कामदारलाई बिगो भराउनै नपुग्ने अवस्था छ।
हाल म्यानपावर व्यवसाय सञ्चालनको इजाजत लिँदा ७ लाख नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टीसहित ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ। तर, वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध धरौटीको ३ गुणाभन्दा बढी बिगो दाबीसहित रोजगारपीडितले उजुरी दर्ता गराएका छन्।
आधा दर्जन म्यानपावर कम्पनीविरुद्ध ९३ लाख रुपैयाँसम्मको बिगो दाबीको उजुरी दर्ता भएको जानकारी विभागले दिएको छ। विभागमा ठुलो रकम ठगिएको उजुरी लिएर आउने पीडित धेरै छन्।
पछिल्लो समय विभागमा उच्च ठगीका घटना दैनिक बढिरहेको पाइन्छ।
यी हुन् धरौटी मागदाबी बढी भएका म्यानपावर
लाइसेन्स नम्बर १४५२ रहेको माइपोखरी इन्टरनेसल प्रालिले संस्थागत र व्यक्तिगत गरी ९३ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको उजुरी रोजगारपीडितले विभागमा दर्ता गराएका छन्। यसका सञ्चालक चित्रबहादुर बुढाथोकी हुन्।
उक्त म्यानपावर कम्पनीले विभिन्न देश पठाइदिने भन्दै झन्डै दुई दर्जन कामदारलाई ठगी गरेको उजुरी विभागको उद्धार तथा राहत शाखामा दर्ता भएको छ। विभागका अनुसार अहिले उक्त म्यानपावरका श्रम स्वीकृति रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। माइपोखरीले विभागमा राखेको धरौटीभन्दा ३ गुणा धेरै ठगी गरेको उजुरी छ।
त्यस्तै, साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि (लाइसेन्स नम्बर ४१९)ले संस्थागत र व्यक्तिगत गरी कामदारसँग करिब ८० लाख ठगी गरेको उजुरी परेको छ। उक्त म्यानपावरले २७ जना युवासँग उक्त रकम ठगी गरेको हो। पीडितले दिएको उजुरीका आधारमा बिगो दाबी भराउने कारबाही अघि बढाइएको जानकारी विभागले दिएको छ।
लाइसेन्स नम्बर ९१४ रहेको भेरीकर्णाली म्यानपावर प्रालिले रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ५० लाख रुपैयाँभन्दा धेरै ठगी गरेको उजुरी विभागमा परेको छ। उक्त म्यानपावरले ११ जना युवालाई खाडीका देश, मलेसिया र युरोप पठाइदिने भन्दै ठगी गरेको विभागले जनाएको छ। उक्त म्यानपावरले धरौटी रकमभन्दा २० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी विभागमा परेको हो।
युरो नेपाल इन्टरनेसनल प्रालि (लाइसेन्स नम्बर १२५०) विरुद्ध विभागमा ४५ लाख रुपैयाँ ठगी गरेको उजुरी छ। १४ कामदारसँग उक्त म्यानपावरले ठगी गरेको विभागले जनाएको छ। युरो नेपालले धरौटी रकमभन्दा १५ लाख रुपैयाँ बढी ठगी गरेको उजुरी कामदारले गरेका छन्।
त्यस्तै, लाइसेन्स नम्बर १०५० रहेको टिलिप ओभरसिज प्रालिले ११ जना युवालाई विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ। उक्त कम्पनीविरुद्ध ३१ लाख रुपैयाँ माग दाबीको उजुरी विभागमा दर्ता छ।
विभागमा दर्ता भएका उजुरीका आधारमा डन इन्टरनेसल प्रालि (लाइसेन्स नम्बर १४०१)ले करिब ३० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ। उक्त म्यानपावरविरुद्ध ११ जनाले उजुरी गरेका छन्।
विभागमा आउने अधिकांश म्यानपावर कम्पनीका ठगी मुद्दा ७ लाख रुपैयाँभन्दा माथिकै हुने गरेको विभागको भनाइ छ।
दैनिक १० जनाले दर्ता गर्छन् ठगीका उजुरी
म्यानपावर र व्यक्तिगत दलालबाट ठगिएको उजुरी लिएर सरदरमा दैनिक १० जना विभाग धाउने गरेको विभागका निर्देशक दिलीपकुमार चापागाईं बताउँछन्।
पछिल्लो समय विकसित मुलुकमा पठाइदिने भन्दै कामदारसँग म्यानपावर कम्पनी र दलालले ठगी गर्न थालेका छन्। तिनै म्यानपावर र दलालविरुद्ध विभागमा उजुरी आउने गरेका महानिर्देशक चापागाईं बताउँछन्। पीडितका समस्याको प्रकृति हेरेर विभागले तत्काल क्षतिपूर्ति भराउँदै आएको चापागाईंको दाबी छ।
म्यानपावर कम्पनीले प्रायः गन्तव्य मुलुकका रोजगारदाता कम्पनीबाट माग ल्याएपछि अग्रिम पेस्कीका नाममा पैसा उठाउँदै आएका गुनासो ठगिएका युवाले गर्ने गरेका छन्।
म्यानपावर कम्पनीविरुद्ध धरौटी रकमभन्दा धेरै ठगीका उजुरी परेपछि पीडितले बिगो दाबी गरेअनुसार क्षतिपूर्ति भराउन समस्या भइरहेको विभागको भनाइ छ। धेरै ठुला ठगीमा संग्लन म्यानपावरलाई कानुनी दायरामा ल्याएर विभागले कारवाही गर्ने सकेको छैन।
क्षतिपूर्ति कसरी भराउने?
धेरै ठगी गर्ने म्यानपावर कम्पनीको धरौटी रकमबाटै पीडितलाई क्षतिपूर्ति भराउँदै आएको विभाग जनकारी दिएको छ। त्यस्ता कम्पनीलाई घरजग्गा तथा अन्य जायजेथासम्म बेच्न लगाएर पीडितको क्षतिपूर्ति भराउँदै आएको दाबी विभागका महानिर्देशक चापागाईं गर्छन्। ‘अत्याधिक ठगी गर्ने कम्पनीलाई लाइसेन्स खारेजीसम्मको कारबाही हुन्छ,’ उनी भन्छन्, 'कतिपय ठूला ठगीका घटना त विभागले प्रहरीलाई समेत जिम्मा लगाउने गरेको छ।'
चार महिनामा ठगीका साढे ७ सय उजुरी
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अविधमा (कात्तिक मसान्तसम्म)मा ठगीका करिब साढे ७ सय उजुरी विभागमा दर्ता भएका छन्। त्यसमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगततर्फ ३ सय २१ उजुरी परेका छन्। ती उजुरीमा कुल ३२ करोड ६४ लाख ९२ हजार रुपैयाँ बिगो दाबी ठगीमा परेका पीडितले गरेका छन्।
व्यक्तिगततर्फ ७ करोड ५३ लाख ७४ हजार रुपैयाँ माग दाबी गर्दै विभागमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये हालसम्म ४२ वटा उजुरी फरफारक गर्दै ३५ लाख रुपैयाँभन्दा बढी बिगो भराएको विभागको भनाइ छ।
त्यस्तै, संस्थागततर्फ १५ करोड ११ लाख १७ हजार रुपैयाँ बिगो माग गरिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफारक गर्दै पीडितलाई १ करोड ६० लाख रुपैयाँ बिगो भराएको छ।
हाल १५ सयभन्दा बढी म्यानपावर विभागमा दर्ता छन्। तर, करिब एक हजार म्यानपावर कम्पनीले मात्र कामदार आपूर्ति गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।