काठमाडौं- काठमाडौंमा शनिबारदेखि सुरु भएको एसिया प्यासिफिक समिटको उद्घाटन सत्रमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हानले आफूसँग आशिर्वाद लिन आउनेहरुलाई क्रिस्चियन (ईश्वरीय) राष्ट्र स्थापना गर्न आग्रह गरेकी छन्।
सम्बोधनमा हानले आफू जिससको छोरी भएको भन्दै जिसस, क्रिस्चियानिटी र आफ्नो प्रशंसा गरेकी थिइन्। हानले लामो समयदेखि विश्वमा बढेको हिंसा अन्त्य गर्न आफू पृथ्वीमा आएको दाबी गर्दै आएकी छन्। मातृभाषा कोरियालीमा बोलेकी हानले ईश्वरप्रति विश्वास बढाउन आफू पृथ्वीमा आएको बताएकी थिइन्।
'जिससको छोरीमार्फत नेपालमा आर्शिवाद लिन आउनुहुने जोजो हुनुहुन्छ, सबैले यो सन्देश सबैतिर फैलाउनुहोस् र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस्', हानले सम्बोधनका क्रममा भनिन्।
'आज ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन्। ईश्वर हुनुहुन्छ। उहाँको बारेमा सबैले थाहा पाउनै पर्छ', उनले थपिन्, 'उहाँले नै जिससको छोरी सृष्टि गर्नुभयो। यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउँ बनाउनु मेरो जिम्मेवारी हो।'
उनले संसारको चाहाना र अभिप्रायकै कारण आफू जिससको छोरीको रुपमा आएको बताइन्।
उनले सन् १९५० मा नामै नसुनिएको अति गरिब राष्ट्र कोरिया आज सम्पन्न हुनुमा ईश्वरको आर्शिवादसँग जोडिन्। 'त्यो देशमा ईश्वरले जिससको छोरी मार्फत यो सम्भव भएको कुरा बताउन चाहान्छु', उनले भनेकी थिइन्।
क्रिस्चियानिटीबाट मात्रै ईश्वरको उद्देश्य पूरा हुने बताउँदै उनले त्यसको लागि ईश्वरले जिससको छोरीको रुपमा आफूले पठाएको दाबी गरिन्। 'किनभने म मार्फत आर्शिवाद लिएन भने जो कोही पनि ईश्वरमा समाहित हुन सक्दैन', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।