काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पुँजीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित 'नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती' विषयको पुस्तक सार्वजनिक गर्दै उनले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पुँजी निर्माणमा ध्यान दिनुपर्ने बताए।
प्रचण्डले हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पुँजी निर्माण गर्न केन्द्रित छन् कि छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पुँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पुँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गरे।
समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उनले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको प्रष्ट्याए। उनले भने– 'अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ।'
राम्रो भविष्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै प्रचण्डले संघर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अंगले अंगिकार गर्न नसक्दा पुराना र नयाँ लडाइँमा पुरानो विचार हावी भएको बताए। भने– 'सडकमा संघर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ।'
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधार स्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले यी चार आधारस्तम्भ मध्ये एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराए। उनले भने– 'सङ्घर्षबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।