काठमाडौं- स्वदेशमै काम गर्नेदेखि वैदेशिक रोगजारीमा जाने महिलाको संख्या बढ्दै छ। घरव्यवहारको जिम्मेवारी लिने सकारात्मक पक्ष त छदैँछ तर वैदेशिक रोजगारीका लागि भारतलगायत खाडी मुलुकमा पुग्ने धेरै महिला/पुरुष डरलाग्दा रोगको शिकार पनि हुन्छन्।
यस्तै भयो विकास सुनार (नाम परिवर्तन) को जीवनमा पनि । चार वर्षअघि उनकी श्रीमती रोजगारीका लागि कुवेत गइन्। दुई छोरा छाडेर विदेश गएकी उनी चार महिनामा नै स्वदेश फर्किइन्। त्यसको केही समयपछि उनी फेरि कुवेत गइन्। श्रीमान् विकास भन्छन्, 'त्यसपछि भने उनको केही अत्तोपत्तो छैन।'
विकासलाई केहीसमय अघि टाउको दुख्ने, छाती दुख्ने समस्या भयो तर उति वास्ता गरेनन्। बिस्तारै शरीर गल्न थालेपछि उपचारका लागि गई रगत परीक्षण गर्दा उनलाई एचआइभी संक्रमण भएको पत्ता लाग्यो।
श्रीमतीबाट नै संक्रमण भएको बताउँछन् उनी। अस्पतालमा भर्ना भई उपचार गरिरहेका विकासलाई आमाले स्याहार गरिरहेकी छिन्।
घर निर्माणको काम गर्ने ५८ वर्षका बलराम क्षेत्री (नाम परिवर्तन) अहिले टेकु अस्पतालमा उपचारत छन्। एचआइभी संक्रमण भएको थाहा भएपछि उपचारका लागि उनी त्यहाँ ल्याइएका हुन्। आफन्त नभएकाले वार्डमा भर्ना भएका अरु बिरामी जस्तो उनको कुरुवा कोही छैनन्। अस्पतालकै स्टाफले सहयोग गर्छन्। आफूलाई कसरी संक्रमण भयो थाहा नभएको उनी बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा बाबुदेव पाण्डेका अनुसार अस्पतालमा दैनिक १०/११ जना संक्रमित बिरामी भर्ना भई उपचार गराइरहेका छन्।
‘यहाँ देशभरका बिरामी आउने भएकाले चाप बढी छ। केही बिरामी उपचार गराउँदा/गराउँदै भाग्छन्। उपचार सुरु गर्यो औषधि नखाइदिने मुख्य समस्या छ,’ उनले भने। त्यसबाहेक अस्पतालमा आवश्यक उपकरण, बजेट व्यवस्थापन, विशेषज्ञ चिकित्सकको समेत अभाव रहेको अस्पतालका निर्देशक पाण्डेको भनाइ छ।
लागु औषध प्रयोगका कारण संक्रमित भएका युवालाई पनि अस्पतालमा राखेर उपचार गर्न सुरक्षाको चुनौती भएको उनले बताए। 'त्यसैले सुरक्षाकर्मीको व्यवस्था पनि अस्पतालले नै गर्न लागेको छ,' निर्देशक पाण्डेले भने।
दुई हजार २ सय एचआइभी संक्रमितलाई टेकु अस्पतालले सम्पूर्ण औषधि उपचार निःशुल्क प्रदान गर्दै आएको छ।
उनीहरूलाई अन्य रोगको संक्रमण भएपनि ती रोगको उपचार पनि अस्पतालले निःशुल्क गरिदिन्छ। निर्देशक पाण्डेले भने, ‘उपचार निःशुल्क छ तर समस्या के हो भने बिरामीले नियमित औषधि खान नमान्ने। औषधि नियमित खानुपर्छ भनेर जनचेतना आवश्यक छ।’
वार्षिक दुई अर्ब रुपैयाँ खर्च
कुनैबेला महामारीकै रूपमा नेपालमा देखिएको एचआइभी/एड्सको संक्रमण पछिल्लो समय कम हुँदै गएको बताइन्छ।
नेपालमा एचआइभी/एड्ससम्बन्धी कार्यक्रम राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६-२०२१ अनुसार सञ्चालित छन्।
सरकारले हरेक वर्ष एचआइभी एड्स रोग नियन्त्रण गर्न अर्बौं रकम खर्च गर्दै आएको छ। तर अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन।
एचआइभी नियन्त्रण गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमार्फत देशभर जनचेतना जगाउने, नयाँ बिरामी पत्ता लगाउने र उनीहरूलाई उपचारको पहुँचमा ल्याई जोखिममा रहेका व्यक्तिहरू पत्ता लगाउने काम गरिरहेको छ।
केन्द्रले नेपाल सरकारको ७५ करोड र विभिन्न दातृ निकाय सहयोगमा प्राप्त हुने दुई अर्ब रुपैयाँ खर्च गर्दै आएको जानकारी दिएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकारी वीरबहादुर रावलले सम्पूर्ण बजेटको ३५ प्रतिशत रकम प्रदेशमा, ३५ प्रतिशत स्थानीय तह र ३० प्रतिशत रकम केन्द्रमा रहने गरी विनियोजन भएको बताए। 'लक्षित समुदाय, समलिङ्गी, कैदीबन्दी, वैदेशिक रोजगारमा गएका व्यक्तिहरूका लागि यसअघि केन्द्रले गर्दै आएका कार्यक्रम अब भने प्रदेश र स्थानीय तहले गर्नेछ,' रावलले भने।
बिरामीलाई उपचारको पहुँचमा ल्याइने
एचआइभी संक्रमित अझैपनि उपचारको पहुँचमा आउन सकेका छैनन्। लुकेर रहेका बिरामी पत्ता लगाई उपचारमा ल्याउन नयाँ कार्यक्रम ल्याउन लागिएको रावलले बताए।
स्थानीयस्तरमा लुकेर रहेका बिरामी पत्ता लगाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने कार्यक्रम स्थानीय तहले गर्नेछ। त्यसका लागि एक जना नयाँ बिरामी पत्ता लगाएबापत स्वयंसेविकालाई एक हजार रुपैँया उपलब्ध गराइनेछ।
त्यसैगरी, ग्लोबल फन्डको सहयोगमा संक्रमितहरूको मानव अधिकारको रक्षा गर्दै लुकेर रहेका बिरामी पत्ता लगाई जनतचेतना जगाउने पाँच वर्षे कार्यक्रम यसै वर्षबाट सुरु हुदैँछ।
संङक्रण भएका व्यक्तिको शारीरिक सम्पर्क हुने साथी, संक्रमितका छोराछोरीलगायतको एचआइभी जाँच गरिने 'इनडेक्स प्रोग्राम' लागू गर्ने योजना पनि छ।
एचआईभी भए/नभएको पत्ता लगाउन यसै वर्ष 'सेल्फ टेस्टिङ' कार्यक्रम पाइलटिङका रुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गरिएको छ।
त्यसबाहेक रोगका कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने भेदभाव हटाउन पनि विभिन्न सञ्चारमाध्यमबाट जनचतेना जगाउने, तालिम दिने कार्यक्रम पनि सञ्चालन हुने केन्द्रले जनाएको छ।
अहिलेको अवस्था
सन् २०१७ सम्म नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित भएको अनुमान छ। तीमध्ये १८ हजार २० जना पुरुष र १२ हजार महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको भनाइ छ।
ती मध्ये १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति बढी रहेको छन्। यो उमेर समूहको नेपालको कूल जनसंख्या मध्ये ०.१५ प्रतिशत एचआइभी संक्रमित छन्। सन् २००४ मा यो दर ०.५ प्रतिशत थियो।
असुरक्षित यौन सम्पर्क, सुइबाट लागुपर्दाथ प्रयोग गर्ने, यौनकर्मी, रोजगारीका लागि विदेशिने र कैदी संक्रमणको उच्च जोखिममा रहेका समूह हुन्। यीमध्ये पनि सुइद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी संक्रमणको दर उच्च छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।