काठमाडौं- ‘बैंकको बिलसहितको १ किलो सुन छ। मिलाएर दिन्छौं, किन्ने हो?’
_x000D_
_x000D_
मैतिदेवीमा बुद्ध ज्वलेरी सञ्चालन गरेर बसेका बुद्ध विश्वकर्मा (शंकर)लाई तिहारदेखि पटक-पटक फोन गर्दै यही प्रश्न सोधिन्छ।
_x000D_
_x000D_
बजारमा सुन मागभन्दा कमै थियो। सस्तो पाए फाइदा पनि राम्रै हुन्छ। विश्वकर्माले सुन किन्ने पक्का गरे।
_x000D_
_x000D_
बैंकको बिलसहितको सुन भएकाले धेरै सस्तो पनि दिन नमिल्ने। ५७ हजार ७ सय तोलाको दरले सुन किन्ने सहमति भयो।
_x000D_
_x000D_
सुन कारोबार गर्ने लोकेसन, ‘काठमाडौं–१६ बसन्तनगरस्थित सूर्यविनायक गेष्ट हाउस एन्ड रेस्टुरेन्ट।’ समय- मंसिर ११ गते साँझ ५ः४५ बजे।
_x000D_
_x000D_
मान्छे चिनेकै छैन। फोनकै भरमा सुन किन्न ४९ लाख ४७ हजार बोकेर विश्वकर्मा लागे सूर्यविनायक गेस्ट हाउस।
_x000D_
_x000D_
विश्वकर्मालाई बोलाएकाहरुले पहिल्यैबाट गेस्ट हाउसका २ वटा कोठा बुक गरिसकेका थिए। एउटा कोठामा बसेका थिए ओपीराम सुनार, शिव कुमाल, मोहन बहादुर बमलगायत ५ जना। अर्को कोठा सुनको कारोबार गर्न भन्दै खाली राखिएको थियो।
_x000D_
_x000D_
होटलभन्दा अन्दाजी १ सय ५० मिटर अगाडि उत्तरतर्फ राखिएको थियो बा १० च ७९९२ नम्बरको टाटा डिआइ गाडी र भे ८ प ६७४५ नम्बरको मोटरसाइकल।
_x000D_
_x000D_
विश्वकर्मा सुन किन्न भन्दै होटल पुगेपछि दिनेश र सुमन भन्नेले माथिल्लो कोठामा कारोबार गरौंला भन्दै आफूले बुक गरेको कोठामा पुर्याए।
_x000D_
_x000D_
त्यसपछि फिल्मी शैलीमा पैसाको बिटो बिस्तारामा राखी गन्न सुरु भयो। ४२ लाख गनिसकेपछि दिनेश ‘दाइसँग सुन छ ल्याउँछु’ भन्दै कोठाबाट बाहिर निस्कन्छन्। बिस्तारामा असरल्ल छरिएको पैसा सुन किन्न गएका विश्वकर्माले सिरकले छोप्छन्।
_x000D_
_x000D_
पैसा लुट्न योजना बनाइसका दिनेशले कोठा बाहिर निस्कदा बाहिरबाट ढोकाको चुकुल समेत लगाउँछन्।
_x000D_
_x000D_
लुट्ने योजनासहित अर्को कोठामा बसेका पाँच जना भएको ठाउँमा गएर दिनेशले आदेश दिन्छन् ‘मान्छे आइसक्यो। के हेरेर बसेका छौं। छिटो काम गर।’
_x000D_
_x000D_
लुट्ने योजनासहित बसेका ५ जनामध्ये दुई जना शिव कुमाल र मोहनबहादुर बमले प्रहरीको बर्दी लगाएर बाहिरबाट सिभिल ज्याकेट समेत लगाएका थिए।
_x000D_
_x000D_
बम महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत प्रहरी हवल्दार समेत हुन्। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत अर्का प्रहरी हवल्दार शालिकराम नेपालीले लुट्ने योजना बनाएर प्रहरीको बर्दीमै आउन लगाएका थिए। हवल्दार नेपालीले आफ्नो बर्दी भने शिव कुमाललाई लगाउन दिएका थिए।
_x000D_
_x000D_
प्रहरीको बर्दीमा भएका कुमाल र बमले 'सबैजना आ–आफ्नो ठाउँमा चुप लागेर बस्' भन्दै धम्की दिएका थिए।
_x000D_
_x000D_
पछि विश्वकर्मालाई थाहा भो, 'म लुटेराहरुको जालमा परेँ।'
_x000D_
_x000D_
उनीहरुकै समहूका अन्य तीन जनाले विश्वकर्मालाई कुटपिट गरी भागे। प्रहरीको बर्दीमा भएका दुईजनाले समेत पीडित विश्वकर्मालाई कुट्दै त्यहाँबाट भगाएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
_x000D_
_x000D_
पैसा लुटेपछि लुटेराको समूह गेस्ट हाउस नजिकै पार्किङ गरेर राखिएको गाडी र मोटरसाइकल चढेर भागेका थिए। झन्डै ५० लाख रहेको पैसाको झोला भने ओपीरामले बोकेका थिए।
_x000D_
_x000D_
सिरकले छोपेको पैसा छुट्यो भन्दै पछि शिव कुमालले सुमन भन्ने व्यक्तिलाई पैसा लिन पुन गेस्ट हाउस पठाएका थिए। उनी पैसाको ब्याग ज्याकेटमा पोका पारेर गेस्ट हाउसबाट बाहिरए।
_x000D_
त्यसपछि कुमाल र मोहन बहादुर बम मित्रपार्कस्थित मोहनको कोठामा गएका थिए । त्यहाँ उनीहरुले लुटेर ल्याएको रकम ३-३ लाख रुपैयाँ समेत बाँडेका थिए।
_x000D_
_x000D_
बाँकी रकम मोहनले रातो झोलामा बोकेर गोपाल विकले चलाएको टाटा डिआई गाडी भएको ठाउँ मित्रपार्कसम्म पुर्याए।
_x000D_
_x000D_
आफ्नो काम फत्ते गरेपछि मोहन पुन आफ्नो कोठामा फर्किए।
_x000D_
_x000D_
अन्य लुटेराहरु राति १० बजे ललितपुर बल्खुस्थित रोयल गेस्ट हाउस आए।
_x000D_
_x000D_
गेस्ट हाउसमा प्रहरी हवल्दार शालिकराम नेपालीले पैसाको भागबन्डा गरे। दिनेश दर्नाललाई १ लाख ५० हजार, ओपीराम सुनार लगायत अन्यलाई १ लाख, शिव कुमाललाई ५० हजार, गाडी भाडा वापत ५० हजार बाँडफाँट भएको रहेछ। बाँकी रकम गोपाल विकले राखे।
_x000D_
_x000D_
रकम पाएपछि सुमन, दिनेश, शिवुलगायतका केही व्यक्ति त्यहाँबाट बाहिरिए।
_x000D_
_x000D_
रकम पाएपछि शिवु भने आफ्नो घर दाङ जाने तरखर गर्दै बल्खुमा चोकमा राति झन्डै साढे १० बजे निस्किए।
_x000D_
_x000D_
झोला बोकेको, पल्याकपुलुक गर्दै आत्तिएको देखेपछि प्रहरीले शिवुलाई चेकजाँच गर्यो। नभन्दै उनी दोषी देखिए। र त्यहीबाट खुल्यो, दुई प्रहरी हवल्दारसहितका व्यक्तिको कालाे कर्तुत।
_x000D_
_x000D_
शिबुमार्फत प्रहरीले सम्पूर्ण घटनाको बेलिबिस्तार थाहा पायो।
_x000D_
_x000D_
त्यसैका आधारमा दाङको राप्ती गाउँपालिका–२ घर भएका शिबुसहित प्रहरीले दाङको घोराही नगरपालिका–३ घर भई सानेपा बस्ने २८ वर्षीय गोपाल विश्वकर्मा, सल्यानको शारदा नगरपालिका–६ घर भई मैपी बस्ने २७ वर्षीय सञ्जय कुमार तिरुवा र कैलालीको चुरे गाउँपालिका–३ घर भई प्रहरी वृत बालाजुमा कार्यरत प्रहरी हवल्दार मोहनबहादुर बमलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
यो समूहमा ९-१० जना भन्दा बढी रहेको र अन्य फरारको खोजी भइरहेको छ। उनीहरुमध्ये मुख्य योजनाकार प्रहरी हवल्दार नेपाली, सञ्यकमाुर तिरुवा र सुमन नाम बताउने अर्को व्यक्ति रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।