एजेन्सी (यान्जी)– उत्तर कोरियाले आइतबार गरेको शक्तिशाली आणविक परीक्षणका कारण सीमा जोडिएको चिनियाँ सहर यान्जीमा भूकम्पको कम्पन महसुस गरिएको छ।
यान्जीमा किनमेल गरिरहेका र रेस्टुराँमा भोजन गरिरहेका स्थानीयले परीक्षणको कम्पनलाई भूकम्प भनेर झुक्किएको बताए। आइतबारको परीक्षण उत्तर कोरियाले गरेको अहिलेसम्मकै सर्वाधिक शक्तिशाली आणविक परीक्षण मानिएको छ।
अमेरिकाको जियोलजिकल सर्भेले परीक्षणमा भएको विस्फोट ६ दशमलब ३ म्याग्निच्युडको भएको जनाएको छ। जापानी र दक्षिण कोरियाली अधिकारीले यसअघिका आणविक परीक्षणभन्दा आइतबारको विस्फोट १० गुणा शक्तिशाली भएको बताएका छन्।
उत्तर कोरियाले भने हाइड्रोजन बमको परीक्षण सफल भएको दाबी गरेको छ। परीक्षणबारे विश्वका विभिन्न देशका भूकम्पमापक केन्द्रहरूले उत्तर कोरियाली आणविक परीक्षण केन्द्रनजिक कृत्रिम भूकम्प गएको जनाएको केही घन्टापछि उसले यस्तो दाबी गरेको हो।
गत शुक्रबार मात्र फ्रान्सेली विदेशमन्त्री जँ इभ्स ल द्रियनले केही महिनाभित्रै उत्तर कोरियाले लामो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गर्नसक्ने चेतावनी दिएका थिए।
तर, परीक्षण हाइड्रोजन बमको नै भएको स्वतन्त्र पुष्टि भने भएको छैन। अमेरिका, रुसलगायत शक्तिशाली राष्ट्रले परीक्षणको निन्दा गरेका छन्।
तर, कतिपय राष्ट्रले उत्तर कोरियाले गरेको परीक्षण हाइड्रोजन बम नभएर शक्तिशाली आणविक परीक्षण मात्र भएको दाबी गरेका छन्। जापानका गृहमन्त्री तथा सरकारका प्रवक्ता योसिहिडे सुगाले भने हाइड्रोजन बमको परीक्षण हुनसक्ने सम्भावना नकार्न नसकिने प्रतिक्रिया दिए।
उत्तर कोरियाको एक मात्र निकट सहयोगी चीनले पनि परीक्षणको भत्र्सना गर्दै तत्काल यस्ता आणविक परीक्षण रोक्न आग्रह गरेको छ। उता, अमेरिकाले भने उत्तर कोरियाको आणविक परीक्षण रोक्न चीनले कुनै कदम नचालेको आरोप लगाउँदै आएको छ।
उत्तर कोरियाले गत वर्ष जनवरीमा पनि ‘मिनिएचर’ हाइड्रोजन बमको परीक्षण गरेको दाबी गरेको थियो। यस्तो मिनिएचर आणविक बमलाई ‘थर्मोन्युक्लियर डिभाइस’ पनि भनिन्छ।
दक्षिण कोरियाको न्युक्लियर सेफ्टी एन्ड सेक्युरिटी कमिसनले परीक्षण र उत्तर कोरियाली दाबीबारे सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।
चार लाख जनसंख्या रहेको चीनको यान्जी सहर उत्तर कोरियाको आणविक परीक्षणस्थल पुंगेयी–रीबाट दुई सय किलोमिटर पर छ। चीनको उत्तर कोरियासँग १ हजार ४ सय २० किलोमिटर लामो सीमा छ। चीनलाई उत्तर कोरियाले कोइला, फलामको धाउ र सामुद्रिक खानेकुरा निर्यात गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।