काठमाडौं– बिना विभागीय मन्त्री तथा माओवादी नेता शिवकुमार मण्डल केवटले निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने स्पष्ट पारेका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रभावित हुने गरी परेको मतपत्रसम्बन्धी रिटमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने तयारी गरेको सूचनाका आधारमा सरकार छाड्ने निर्णयबाट पछि हटेको माओवादी दाबी छ।
तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन, अझै सरकारमै बस्नुहुन्छ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘चुनावको सुनिश्चितता नहुँदासम्म सरकार नछाड्ने हाम्रो अडान यथावत छ, सर्वोच्चको फैसला पछिको परिवेशमा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौं।
सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बुधबार यस्तो आदेश सुनाएको हो। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता सर्वेन्द्रनाथ शुक्लले असोज २२ गते प्रदेश र प्रतिनिधि सभाको समानुपातिकको मतपत्र अलग–अलग हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। मंगलबार नै सुनुवाइ सकिए पनि संयुक्त इजलाशले बुधबार समानुपातिकतर्फको मतपत्रको छपाई सुरु भइसकेको भन्दै आयोगको निर्णय सदर गरेको हो।
माओवादी केन्द्रले सर्वोच्चले मतपत्र अलग–अलग बनाउन आदेश दिने र त्यही आदेशका आधारमा प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको सूचना आएकाले सरकारबाट बाहिरिन अस्वीकार गरेको थियो। दुई घन्टा पहिले मन्त्री फिर्ता बोलाउने सूचना चुहाएको माओवादीले गृहमन्त्री जनार्दन शर्मा मार्फत मंगलबार ३ बजे पत्रकार सम्मेलनमा निर्वाचन आयोगबाटै चुनाव सार्ने तयारीबारे सूचना पाएकाले तत्काल सरकारबाट नहट्ने जानकारी दिएको थियो।
मन्त्री मण्डलले प्रधानमन्त्री देउवाले कार्यकारी अधिकार प्रयोग जती गर्न सक्थे, त्यति गरिसकेको र अब आफूहरुलाई थप कारबाही गर्न नसक्ने जिकिर गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहानै प्रधानमन्त्री देउवालाई भेटी सरकार छाड्नेबारे जानकारी गराएका थिए।
तर दिँउसो एकाएक माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीले चुनाव सार्ने षड्यन्त्र गरेको भन्दै सरकार नछाड्ने घोषणा गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री देउवाले माओवादीका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई जिम्मेवारीमुक्त गर्दै बिना विभागीय बनाएका थिए।
‘प्रधानमन्त्री देउवाले हामीलाई जिम्मेवारी मुक्त गरेर बिना विभागीय बनाउनुभयो, यसभन्दा बढी केही गर्न सक्नुहुन्न। हामीलाई हटाउन सक्नुहुन्न,’ उनले भने, ‘कांग्रेससँगको हाम्रो सत्ता साझेदारी चुनाव गराउनका लागि हो। हामीले सदासयता देखाएर समर्थन कायम राख्दै सरकारबाहिरै रहेर भए पनि चुनावमा सघाउने निर्णयसहित मन्त्रिपरिषद्बाट बाहिरिने सोचेका थियौं। तर एकाएक चुनाव सार्ने खेलबारे सूचना पायौं।’
अझै पनि चुनावको सुनिश्चितता हुने हो भने सरकारबाहिरै रहेर समर्थन गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘तर देउवाजीले सहकार्यको मर्मविपरीत हामीलाई जिम्मेवारीमुक्त गरेर घोर अनैतिक र अलोकतान्त्रिक काम गर्नुभएको छ। त्यसैले अब के गर्ने भन्ने विषयमा फरक ढंगले सोच्नुपर्ने बेला आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।