एजेन्सी (संघाई): चीनको सेयर बजार अनुगमन गर्ने निकाय चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनका पूर्व उपाध्यक्ष याओ गाङ विरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु भएको छ।
उनले घूस लिएको आरोपमा छानबिन थालिएको अनुसन्धानमा संलग्न एक अधिकारीलाई उल्लेख गर्दै चाइना डेलीले जनाएको छ। सन् २०१५ को अन्त्यतिर सेयर बजारमा ठूलो घोटाला भएको आशंकामा गरिएको कारबाहीमा याओ पनि पक्राउ परेका थिए । यसरी पक्राउ पर्ने सरकारी अधिकारीमध्ये उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्।
लामो समय तीव्र गतिमा बढेको सेयर मूल्य सन् २०१५ को मध्यतिर एक्कासी धरासायी भएपछि सेयर बजारमा सरकारले हस्तक्षेप गरी कारबाही गरेको थियो।
गत जुलाईमा त्यहाँको भ्रष्टाचार निरोधी निकायले याओलाई घुस लिएर सेयर बजार ध्वस्त पारेको अभियोगमा मुद्दा चलाइने जनाएको थियो । ५५ वर्षीय याओ सन् २००२ मा चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनमा उपाध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी सन् १९९९ मा गुओताई जुनान सेक्युरिटिजका महाप्रबन्धक थिए।
चीनमा हुने इनिसियल पब्लिक अफरिङ्सका सबै कारोबार हेर्ने भएकाले सिएसआरसीमा उनलाई ‘किङ अफ आइपिओ’ भनेर चिनिन्थ्यो । उनले यो काम १३ वर्षसम्म गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।