सुर्खेत- त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका ६० वर्षीय पदम रोकाय गाडी चढेर डोल्पाबाट सुर्खेत पुग्ने कल्पनामा रमाउन थालेको १४ वर्ष पुगिसकेको छ। अब भने उनी आफ्नो सपना पूरा हुनेमा ढुक्क भएका छन्। जिल्ला सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि १४ वर्षदेखिको सपना अब पूरा हुने भएको छ।
_x000D_
_x000D_
मंगलबार सडक उद्घाटन भएपछि उनले भने, ‘सडक आउला कि नआउला भन्दा भन्दै आइपुग्यो। अत्यन्तै खुसी लागेको छ।’
_x000D_
_x000D_
थुप्रै चट्टान र भीरपाखा छिचोल्दै डोल्पा सदरमुकाममा सडक पुगेको छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्तग जाजरकोटको पासगाडबाट डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।
_x000D_
_x000D_
निर्माण कार्य सुरु गरेको १४ वर्षपछि डोल्पा सदरमुकामसम्म ट्रयाक पुगेको छ।
_x000D_
_x000D_
जिल्ला सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल पुर्याउने सरकारी नीति अनुसार विसं २०६१ सालदेखि उक्त सडक निर्माण कार्य सुरु गरिएको थियो। कुल १ सय १८ किलोमिटर लम्बाइ रहेको उक्त सडक खण्डको सुपानीदेखि दुनैसम्मको १४ दशमलब ३ किलोमिटर सडक खण्डको कच्ची ट्रयाक यसअघि नै तत्कालीन जिल्ला विकास समितिले खुलाइसकेको थियो। बाँकी रहेको एक सय तीन किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको छ।
_x000D_
_x000D_
पहिलो चरणमा सेनाले जाजरकोटदेखि काम थालेको थियो। तर विवाद सिर्जना भएपछि दुई वर्ष काम ठप्प भयो। दोस्रो चरणमा विसं २०६६ सालदेखि डोल्पाको सुपानीबाट पुनः सडक निर्माणको काम सुरु भएको थियो। उक्त सडकको निर्माण सकिएसँगै डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो।
_x000D_
_x000D_
रक्षामन्त्रीले गरे औपचारिक उद्घाटन
_x000D_
सदरमुकामसम्म सडक पुगेपछि संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सडकको औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
_x000D_
_x000D_
डोल्पामा सडक पुगेसँगै अब यहाँका पर्यटन विकास सँगसँगै आर्थिक विकासले पनि फड्को मार्ने मन्त्री पोखरेलले बताए। उनले कर्णालीको समृद्धिमा पनि यो सडक मेरुदण्ड साबित हुने जिकिर गरे। ‘डोल्पाको अन्य जिल्लाहरुसँग पनि अब सहज पहुँच हुनेछ,’ उनले भने।
_x000D_
_x000D_
सडकमार्गको पहुँच नपुगेका कारण डोल्पावासीले महँगो भाडा तिरेर हवाई यात्रा गर्नुपर्ने बाध्यता थियो। सडक निर्माण भएसँगै हवाई यातायातकै भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। यतिबेला डोल्वावासी हर्षित भएका छन्। भौगोलिक विकटताका कारण सडक कहिले आइपुग्छ भनेर डोल्पावासी समेत विश्वस्त थिएनन्।
_x000D_
_x000D_
‘डोल्पाका भीरपाखा छिचोल्दै गाडी पुग्ला भन्ने हामीले सोचेका थिएनौं,’ त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले भने, ‘तर ढिलोचाँडो यहाँका नागरिकले गाडी चढ्न पाउने भएका छन्। सडक सञ्जाल जोडिँदा यात्रा गर्नका लागि मात्रै सहज भएको छैन, डोल्पाको अर्थतन्त्रमा समेत यसले मद्दत मिल्नेछ।’
_x000D_
_x000D_
अहिलेलाई ट्रयाक खोलिएको उक्त सडकमा गाडी सञ्चालन भए सस्तो मुल्यमा खाद्यान्न लगायतका सामग्रीसमेत उपभोग गर्न पाइने भएकाले पनि सर्वसाधारणमा खुसी छाएको उनले बताए। डोल्पामा उत्पादन हुने सिमि, फापर र स्याउले अब बजार पाउने छ। ‘कृषि उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा डोल्पालीको जीवनस्तर माथि उठ्न सकेन,’ उनले भने, ‘सडक पूर्ण रुपमा निर्माण भए किसानले बारीमै मेहनतको मूल्य पाउनेछन्, अर्गानिक उत्पादन उपभोक्ताले उपभोग गर्नेछन्।’
_x000D_
_x000D_
पुल बनेपछि मात्रै यातायात सहज सञ्चालन
_x000D_
जिल्ला सदरमुकाम दुनै सडक सञ्जालमा जोडिएपनि अहिले नै उक्त सडकमा सवारी साधनहरु भने सञ्चालन हुने छैनन्। ट्रयाक खुले पनि सो सडक खण्ड अन्तर्गत पर्ने खोलाहरुमा पुल निर्माण नभएसम्म सवारीका साधन सञ्चालन गर्न कठिनाइ हुनेछ। अहिले खोलिएको ट्रयाकलाई तत्काल स्तरोन्नति गरेर नियमित सवारी सञ्चालन गर्न मिल्ने बनाउनुपर्ने स्थानीयवासीको माग छ।
_x000D_
_x000D_
त्रिपुरासुन्दरीका प्रमख ओमबहादुर बुढाले तत्कालका लागि खोलाहरुमा बेलीब्रिज निर्माण गरेर भए पनि सडक नियमित सञ्चालनमा ल्याउनुपर्ने बताए। ट्रयाक खुले पनि गाडी गुड्ने निश्चित नभइसकेको भन्दै उनले जतिसक्दो छिटो डोल्पावासीले गाडी चढेर प्रदेश राजधानी पुग्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
छलगाडबाट डोल्पा सदरमुकाम दुनैसम्मको सडक चालु आर्थिक वर्षभित्र नेपाली सेनाले नै स्तरोन्नति गर्नेछ।
_x000D_
_x000D_
‘आर्थिक विपन्नता र विकटताको उपमा पाइरहेको डोल्पालाई नेपाली सेनाले सडक सञ्जालमा जोड्न महत्वपूर्ण काम गरेको छ,’ बुढाले भने, ‘अब अन्य विकासका कामहरु पनि तीव्र रुपमा हुन्छन्।’
_x000D_
_x000D_
डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सडक सञ्जालले डोल्पालाई छोएसँगै डोल्पालीले विकटताबाट मुक्ति पाएको बताए। उनले अब नियमित गाडी गुड्ने गरी सडकको स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताए।
_x000D_
_x000D_
‘ट्रयाक त खुल्यो अब यहाँका नागरिकले गाडी चढेर हिँड्न सक्ने बनाउनका लागि सरकारले सडकलाई तत्कालै स्तरोन्नति गर्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।