मनोज गजुरेललाई चिनाइरहनु पर्दैन। ’स्ट्यान्डअप कमेडी’ बाट उनी नेपालीमाझ चर्चित छन्। देश विदेशका कार्यक्रममा पनि उत्तिकै व्यस्त रहने कलाकार हुन्। हालै उनी आफ्नो एकमहिना लामो अमेरिकी भ्रमण सिध्याएर नेपाल फर्किएका छन्। उनीसम्बद्ध सिस्नुपानी नेपालले वार्षिकरूपमा गर्दै आइरहेको ’देउसी भैलो’ कार्यक्रमको तयारीमा व्यस्त रहेका गजुरेलसँग नेपाल लाइभका लागि अशेष अधिकारीले गरेको कुराकानी:
काठमाडौं किन आउनु भयो ?
पहिला त दाईसँग पढ्न भनेर आएँ। पछि रहँदा बस्दा खुट्टो घुमाउन सकिन्छ जस्तो लाग्यो। खुट्टो घुमाइयाे। खुट्टो घुम्यो पनि। यसको मतलब म काठमाडौंवासी होइन। काठमाडौंलाई म डेरा भन्छु। हुन त सानु झुप्रो पनि बनाएको छु। त्यही पनि काठमाडौंवासी भन्दा त्यति मजा आउँदैन। अझै पनि म जन्मस्थान ताप्लेजुङ, गृह जिल्ला झापा गइरहन्छु। 'ताप्लेजुङको', 'झापाको' भन्दा मनमा आत्मसन्तुष्टि हुन्छ।
काठमाडौं नआएको भए?
म सम्झन्छु, काठमाडौं नआएको भए सायद उही ताप्लेजुङका डाँडाकाडाँमा चौरीपालन गरेर बस्थें होला। कसैको गोठालो भएर बस्थें होला वा कसैको भारी बोकेर बसिन्थ्यो होला।
कलाकारितामा कहिलेदेखि लाग्नुभयो?
दाजुसँग २०४५ सालमा काठमाडौं पढ्न भनेर आएँ। म पद्यमोदय हाइस्कुलमा पढ्थें। त्यो बेला म रेडियो नेपालमा बाल कार्यक्रममा कविता भन्न जान्थें। त्यही बालकार्यक्रम नै कलाकारिता क्षेत्रमा लाग्ने प्रस्थान बिन्दु थियो भन्ने मलाई लाग्छ। तर त्यो भन्दा पहिला म झापामा हुँदा त्यहाँ हुने अतिरिक्त क्रियाकलाप अन्तरगत एउटा शुक्रबार हाँस्य कविता भएको थियो। मैले त्यो बेला एउटा प्यारोडी गीत गाएर प्रथम पुरस्कार पाएको थिएँ। मलाई कलाकार हुने अर्को प्रस्थान विन्दु त्यो पनि थियो जस्तो लाग्छ। ममा रहेको कमेडी स्वभाव त्यसलाई सघाउने तत्व थियो।
जीवनको पहिलो कमाई ?
सबैभन्दा पहिलो कमाई सुवास घिसिङको चुनावको बेला उनका विरोधीहरुले एउटा क्यासेट निकालेका थिएँ। त्यसको रेकड्रिङ काठमाडौंमा शम्भु राईको स्टुडियोमा भएको थियो। त्यस क्यासेटमा मैले उनीहरुको लेखनमा बोलेको थिँए। त्यस बापत मैले पाँच हजार पाएको थिए। त्यो पैसाले बिहे गरें। यो २०५२ सालको कुरा हो। पाँच हजार त्यो बेला सानो कमाई होइन। त्यो मेरो कलाकारिता क्षेत्रको पहिलो र सबभन्दा ठूलो कमाई हो।
तपाईंले त भागी विवाह गर्नु भएको हो ?
मेराे 'फ्लाइङ' विवाह हाे । त्याे भनेको उडाएको, उडायो रे भन्छन् नि। त्यही गरेको हो। म जुन जातीय वर्गमा हुर्किएँ, त्यहाँ उपाध्याय बाहुनले जैसीसँग विहे गर्नु हुन्न भन्ने मान्यता थियो। तर,मेरो आदर्शमा जातभातको ठाउँ छैन किनकी यो मान्छेले बनाएको हो। त्यसमा मैले केही क्रान्ति गरें कि भन्ने लाग्छ। मैले ठूलो क्रस म्यारिज गर्न नसके पनि मेरो पिता, पूर्खा, परिवार, आफन्तले गर्न नसकेको क्रान्ति मैले गरें भन्ने मलाई लाग्छ।
घरको कस्तो प्रतिक्रिया आयो ?
सकारात्मक आउने कुरो थिएन। मैले पनि उहाँहरुलाई तर्कले कन्भिन्स गराउनु हुँदैन भन्ने लाग्यो। किनकी उहाँहरुको प्रतिक्रियाका पछाडि उहाँहरु रहनुभएको समाज बोलेको थियो। मैले यसमा उहाँहरुलाई 'सरी' भनें। अहिले सहज रुपमा लिनुभएको छ।
गाउँमा हुँदा गरेका के–के कुरा अझै सम्झनु हुन्छ?
हरियो घाँस पनि काटेको छु । दाउरा चिरेको छु। हलो जोतेको छु। धेरै गर्या छु। कति साथीहरु विगत लुकाउनुहुन्छ। तर मलाई यी बताउन पाउँदा गर्व लाग्छ। एक खालको आनन्द पनि। किनभने यस कुराले मानिसहरुलाई थाहा हुन्छ, हामी पनि तलबाट माथि उठेका हाैं। तलबाट नै यो ठाउँमा आएका हाैं।
पहिलाे कोठाभाडा कति तिरेका याद छ?
दाईसँग पढ्न आउँदा ३५० थियो क्यारे। म २०५२ सालमा छुटिँदा नौ सयको कोठामा बसेको थिएँ। अहिले त बालकोटमा आफ्नै एउटा सानो झुप्रो बनाएको छु।
लेख्दा आनन्द लाग्छ की स्टेज साे गर्दा ?
लेख्दाको आनन्द र स्टेज साेको आनन्द भिन्न भिन्न हुन्छ। लेखन भनेको विशुद्ध वैचारिक चेतनाको उच्चतम रुप हो, जुन स्टेज साेमा प्राप्त हुन्न। मलाई लेख्दा आनन्द लाग्छ।
यो उचार्इंमा आइपुग्दा जीवनका अरु उद्देश्यहरु कता छन्?
म यस्तो आर्थिकस्थितिबाट आएँ, जहाँ म डाक्टर वकिल वा इन्जिनियर बन्ने खालको हैसियत थिएन। मैले मेरो उद्देश्य भन्दा धेरै पाएको छु। मेरो ठूलो उद्देश्य भनेको एसएलसी पास गर्न पाएँ हुन्थ्यो भन्ने थियो। मैले त्यो भन्दा ठूलो पाएको छु। त्यसैले मेरो उद्देश्य पूरा भएको छ। मैले चाहे भन्दा बेसी पाएको छु।
मान्छेको उद्देश्य प्राप्त भएपछि खुसी हुन्छन् । तपाई सबै भन्दा खुशी भएको दिन ?
एसएलसी पास गरेको दिन हो जस्तो लाग्छ। तर उमेर बढ्दै जाँदाखेरी धेरै समस्याले गाँज्ने अर्थात् धेरै कुराहरु दिमागमा लिनुपर्ने हुनाले अब खुसी विर्सेर दुःख बढी सम्झिइन्छ ।
कलाकारहरूमा हास्य कलाकारहरूको बजार कति राम्रो छ?
तुलनात्मक र व्यस्तताबाट हेर्ने हो भने यो विधामा संलग्नहरू बढी व्यस्त छन्। यो कुरा फिल्ममा पछिल्लो समय हास्यरसकै कारण प्राप्त सफलताको अंकगणित हेर्दा स्पष्ट हुन्छ। हास्य प्रस्तुतिबिना स्टेज सो अपूरा जस्ता हुन्छन्। रंगमञ्चमा पनि गतिलो उपस्थिति छ। कमाइको मामिला पनि हास्य कलाकारको अवस्था लोभलाग्दो नै मान्नुपर्छ।
कस्तो बिधा हो हास्य क्षेत्र ?
हास्यक्षेत्र एउटा विशिष्ट बिधा हो। जसमा अपडेट भइरहनुपर्छ। जस्तो कि यम बरालले आज भन्दा बर्षाैंअघि 'बादलुको घुम्टोले' भन्ने गीत गाएँ। उनले आज पनि त्यो गीत गाइरहन्छन् तर हास्यक्षेत्रमा त्यो गर्न मिल्दैन। दिनप्रति दिन हुने घटना क्रमलाई बुझेर यस्तो गरे दर्शक श्रोताहरुलाई हँसाउन सकिन्छ भन्ने तिर तल्लीन हुनुपर्छ। हिजो गरेको कमेडी आज पनि गर्याे भने 'ह्या, यो त उही हो नि' भन्दै नाक खुम्चाउँछन्। त्यसलाई रोक्न नयाँपन दिनुपर्छ, जसका लागि अभ्यास अध्ययन अत्यन्त जरुरी छ।
नेपाली हास्य क्षेत्रमा नयाँ पुस्तामा कसको काम राम्रो छ?
पछिल्लो समय नयाँ पुस्तामा सन्दिप क्षेत्रीको राम्रो छ। उनको नेपाली र अंग्रेजी भाषा मिसाएर प्रस्तुत हुने शैलीले युवापुस्तामा उनको लोकप्रियता र उनको शैली हेर्दा उनी राम्रा लाग्छन्। त्यस्तै नक्कल उतार्ने कमेडीमा दिनेश काफ्ले तथा सुवोध गौतम चर्चित हुनसक्ने कलाकार हुन्। लेखनमा, त्यो पनि विशेषगरी प्यारोडी आदिमा राजा राजेन्द्र पोखरेल राम्रा छन्। स्क्रिप्ट राइटिङमा अझै समस्या छ। प्रस्तुति दिने कलाकार आफैंले लेखेर यसको काम चलाउने भरहेको छ। पत्रिकामा आउने आलेखहरूमा लक्ष्मण गाम्नागे हुनुहुन्छ भने मनोज गजुरेलजीको लेखन पनि मलाई मनपर्छ।
यसमा देखिएका विकृति?
पछिल्लो समय केही हदसम्म अश्लिलता पनि देखिएको छ। यो विशेषगरी गाईजात्राका सिलसिलामा यो प्रवृति देखिएको छ। जुन स्वस्थकर होइन। यस क्षेत्रलाई शिष्ट र मर्यादित बनाउनुपर्छ भन्ने मान्यता म राख्दछु। मेरा सिर्जनामा त्यो देखाउने प्रयत्न हर समय रहन्छ र रहिरहन्छ।
यो क्षेत्रमा जीवन चलाउन सजिलो छ ?
यो क्षेत्रमा मात्र होइन हर क्षेत्रमा सकिन्छ तर दक्षता आवश्यक छ। यसमा लागेर मज्जाले जीवन चलाउन सकिन्छ र मैले चलाएको पनि छु र अरुले पनि चलाएका छन्।
हास्य व्यंग्य अहिले चर्चित हो कि लोकप्रिय?
चर्चा अत्याधिक छ भने लोकप्रिय उन्मुख हुँदै गइरहेको छ। यसको लोकप्रियताले विस्तारै हाँस्य कलाकारहरू समाजसँग पनि जोडिन थालेका छन्।
सवै भन्दा वढी धन्यवाद कसलाई दिनु हुन्छ ?
सबभन्दा बढी म मेरो आमालाई दिन्छु। जसले ७ जना टुहुरा वच्चालाई हुर्काउनु भयो। म करिब ६ महीनाको हुँदा बुवाको निधन भएको हो। मलाई उहाँको अनुहार याद छैन। अनि मेरा दाई जसले मलाई काठमाडौं ल्याउनु भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।