काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको छ।
बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा पार्टीका प्रस्तावित एजेन्डाबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। महाधिवेशन तयारीका क्रममा नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुने भएको छ।
यस्तै प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदनसम्बन्धी विषय पनि बैठकमा प्रस्तुत गरिएको छ।
त्यसैगरी पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत कांग्रेसले छलफल गर्ने भएको छ। सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसले निर्वाह गर्ने भूमिकाका विषयमा पनि बैठकमा छलफलको प्रस्ताव गरिएको छ।
प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिअपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।
यस्तो छ प्रेस विज्ञप्ति :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।