काठमाडौं– काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार सांस्कृतिक र्याली निकालिएकाे छ ।
विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले आ-आफ्नो मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

समारोहमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता छ । कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाज, मानवअधिकारकर्मी, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको छ।
विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने महासंघले जनाएको छ। संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै महत्वपूर्ण विषय रहेको महासंघको भनाइ छ।
विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।
हेर्नुहोस् र्यालीक केही तस्बिर –





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।