काठमाडौं– पछिल्लो ७ वर्षयता नेपाली खेलकुदमा क्रिकेटले सबैभन्दा धेरै प्रगति गरेको छ। सन् २०१० मा डिभिजन– ५ बाट सुरु भएको नेपाली क्रिकेटको यात्रा २०१५ सम्म आइपुग्दा आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्ने हैसियतमा पुग्यो। यसबीच नेपालले बंगलादेशमा सन् २०१४ को आइसिसी टि–२० विश्वकप खेल्दै इतिहास रच्यो। यी सबै उपलब्धि नेपालले अपर्याप्त पूर्वाधार र अन्तर्राष्ट्रिय स्तरको सुविधाबिना नै हात पारेको हो।
नेपाली क्रिकेट निरन्तर उकालो लाग्दा व्यवस्थापन भने सधैं आलोचित बन्यो। व्यक्तिगत स्वार्थ र टकरावका कारण अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन नै गर्नुपर्यो।
तर, २०१५ मा डब्लुसिएल च्याम्पियनसिप खेल्न थालेपछि भने नेपालको प्रदर्शन ओरालो लाग्दै गइरहेको छ। डब्लुसिएल च्याम्पियनसिपमा नेपालले ६ चरणमा १२ खेल खेलेको थियो, जसमा ४ मा मात्र जित निकाल्न सफल भयो। यी ४ मध्ये पनि ३ खेल नेपालले घरेलु मैदानमा जितेको थियो।
यसै साता हङकङविरुद्धको खेलमा पराजय भोगेपछि नेपाल डिभिजन–२ मा झरेको छ। यो स्वभाविक पनि हो, त्यसैले अहिले नेपालको हार र खराब प्रदर्शनको कारण नेपाली क्रिकेट समर्थकले सामाजिक सञ्जाल मार्फत मागिरहेका छन्।
नेपाली टिम पराजित हुनुमा प्रमुख दुई वटा कारण रहेको क्यानका पूर्व मुख्य छनोटकर्ता विजय शर्माले बताए। पहिलो कारण खेलाडी छनोट प्रक्रिया पारदर्शी र समयानुकुल हुन नसकेको उनको भनाइ छ। ‘कप्तान र प्रशिक्षक खेलाडी छनोट प्रक्रियामा सक्रिय भएपछि यस्तो अवस्था आउँछ,’ उनले सौरभ खनाललाई टिममा समावेश गर्न नसकेको उदाहरण दिँदै प्रश्न गरे, ‘कप्तान र प्रशिक्षकले छनोट समितिलाई सुझाव मात्र दिने हो। घरेलु प्रतियोगितामा सबैभन्दा राम्रो गर्ने खेलाडीलाई टिममा नराख्नुको कारण के हो त?’
क्यानको विवादपछि हाल नेपाली टिममा खेलाडी छनोटको जिम्मा प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका एक प्रतिनिधिले लिने गरेका छन्।
शर्माले विगत केही समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा औसत खेल पनि देखाउन नसकेका खेलाडीलाई टिममा राख्दा हार्नु परेको आरोप लगाए।
‘सानो बाउन्ड्री भएको हङकङको मैदानमा सौरभको ठूलो महत्व थियो,’ शर्माले भने, ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसक्ने खेलाडीलाई सधैं टिममा राख्नुको कारण हामी हारेका हौं।’
उनको भनाइमा स्तरीय टिमसँग अभ्यास खेल नखेल्नु हारको दोस्रो कारण हो। नेपाली टिम हङकङ जानुपूर्व भारतको चेन्नईमा अभ्यास खेल्न गएको थियो। जहाँ नेपालले स्तरीय टिमसँग नभई कम स्तरको टिमसँग अभ्यास खेलेको थियो। ‘कमजोर टिमसँग अभ्यास गरेर हङकङसँग प्रतिस्पर्धा गर्नु नै ठूलो भूल हो,’ उनले भने।
राष्ट्रिय टिमका पूर्व क्रिकेटर दीपेन्द्र चौधरीले पनि खेलाडी छनोट प्रक्रियाप्रति असन्तुष्टि पोखे। भने, ‘हामी ओपनरमा चुकिरहेका छौं। नयाँलाई मौका दिँदा पनि राम्रो भएको छैन। नयाँ चल्न नसकेपछि सतक हानेका पुरानालाई पनि मौका दिनुपर्थ्यो।’
चौधरीले प्रश्न गरे, ‘एक जना खेलाडी बिरामी हुने बित्तिकै उनको स्थानमा खेल्ने अर्को खेलाडी टिममा नहुनु राम्रो लक्षण हो र? ब्याटिङ कमजोर छ भने किन थोरै ब्याट्सम्यान टिममा राख्छौ?’
प्रशिक्षक विदेशी हुनुपर्छ, पारसले सोच्नुपर्छ
नेपाली क्रिकेटलाई माथि उठाउन विदेशी प्रशिक्षकको खाँचो देख्छन् क्यानका पूर्व मुख्य छनोटकता शर्मा । भने, ‘यसअघिका दुई विदेशी प्रशिक्षकले नेपाललाई एउटा स्तरसम्म पुर्याए। अब अर्को स्तरमा पुर्याउन विदेशी प्रशिक्षक आवश्यक छ।’
पूर्व क्रिकेटर चौधरी पनि प्रशिक्षकको योजनामा सन्तुष्ट छैनन्। नेपाली टिमलाई एक मात्र प्रशिक्षक हुनुले पनि घाटा पारिरहेको उनको ठम्याई छ। ‘यू–१९ टिमलाई प्रशिक्षण दिन मोन्टी देसाई आएका थिए। उनीसँग केही दिन काम गर्ने मौका मिल्यो,’ चौधरीले अनुभव सुनाए, ‘उनले सिकाएका कुरा धेरै उपयोगी थिए। सिनियर टिमले पनि कहिलेकाहीँ विदेशी प्रशिक्षक ल्याए राम्रो हुन्छ।’
टिम छनोटदेखि बाँकी व्यवस्थापकीय काममा समेत कप्तान पारस सामेल हुनुपर्दा उनको वास्तविक खेल ओझेलमा पर्न थालेको शर्माको बुझाइ छ। वर्तमान अवस्थामा क्रिकेटलाई राम्रो हुन्छ भने पारसले कप्तानी छाडेर खेलमा केन्द्रित हुन पनि पछि हट्नु नहुने उनले बताए। ‘पारसले कप्तानी छोडेर खेलमा मात्र ध्यान दिँदा क्रिकेटलाई फाइदा पुग्छ कि भन्नेबारे पनि सोच्नुपर्छ,’ शर्माले भने, ‘कप्तानीको बोझले पारसको स्वभाविक खेल प्रभावित बन्दै गएको देखिन्छ। खेलाडीका रुपमा मात्र बस्दा दबाब कम हुन्छ। भारतका महान् खेलाडी सचिन तेन्दुलकरले ब्याटिङमा केन्द्रित हुन कप्तानी छोडेका थिए।’
क्रिकेटर चौधरी भने अहिलको अवस्थामा पारस नेपालको उत्कृष्ट कप्तान भएको बताउँछन्। ‘पारस नेपालको उत्कृष्ट कप्तान हो। कप्तानी छाड्ने पारसको व्यक्तिगत कुरा हुन सक्ला,’ चौधरी भन्छन्।
शर्माले खेलमा हारजित स्वभाविक भए पनि व्यवस्थापनको असक्षमताले नेपाली क्रिकेटलाई धेरै नोक्सानी पुगेको बताए। उनको दाबी छ, ‘नेपाली क्रिकेटको दुर्गतिको मूल कारण व्यवस्थापन हो।’ उनी आइसिसीको मात्र भर नपरेर सरकारले पनि क्रिकेटमा लगानी गर्नुपर्ने बताउँछन्। ‘कम्तिमा दुई महिना क्याम्प राख्नु पर्यो, सरकारसँग सहयोग माग्नुपर्यो,’ उनी भन्छन्।
नेपाली टिम डब्लुसिएलमा हङकङसँग पराजित हुँदै डिभिजन २ मा झरेसँगै क्रिकेटका कैयौं समर्थकले सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति पोखेका छन्। क्रिकेट समर्थक सञ्जय प्रसन्न धरेलले नेपाली क्रिकेट समर्थक समाजको फेसबुक समूहमा ‘शरदलाई कप्तानी दिँदा के होला?’ भनेर राय समेत मागेका थिए। जहाँ सयौंको संख्यामा प्रतिक्रिया आयो। कतिपयले पारसलाई नै निरन्तरता दिन सुझाए भने कतिपयले शरदलाई कप्तानी दिँदा नेपाली क्रिकेटमा नयाँपन आउने तर्क गर्दै विकल्प प्रस्तुत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।