जुरिच – सन् २०१८ मा रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको युरोपियन प्लेअफको ड्र सार्वजनिक गरिएको छ। समूहमा दोस्रो भएका ८ टिमबीच मंगलबार ड्र गरिएको थियो।
जसअनुसार उत्तरी आयरल्यान्डले स्विट्जरल्यान्डसँग खेल्नेछ। क्रोएसियाले ग्रिसको सामना गर्नेछ। यस्तै, डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच भिडन्त हुनेछ। अर्को प्ले अफमा इटाली र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।
प्लेअफ खेल होम र अवेका आधारमा ९ र १४ नोभेम्बरमा हुनेछ। जित हात पर्ने चार टिम विश्वकपमा छनोट हुनेछन्।
प्ले अफमा एसियाबाट अस्ट्रेलिया र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट होन्डुरस छनोट भइसकेका छन्। यी दुई टिमबीच पनि प्ले अफ हुनेछ।
अर्को प्ले अफमा दक्षिण अमेरिकामा पाँचौं भएको पेरु र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
विश्वकपका लागि अहिलेसम्म २३ देशले स्थान पक्का गरिसकेका छन्।
युरोपबाट १० टिमले विश्वकपमा स्थान बनाएका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्। आइसल्यान्डले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्। दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भएका छन्।
यसैगरी, अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब ३ टिम छनोट हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।