काठमाडौं– करिब दुई महिनाअघि गोरखा घर भई काठमाडौं बस्ने स्नेहा श्रेष्ठको सोह्रखुट्टेको पोटर हाउस चर्चमा नाइजेरियाका दुई युवकसँग भेट भयो । चर्चमा नियमित आइरहने ती युवकले स्नेहालाई साथी बनाए । आफूहरु अमेरिकामा बस्ने भन्दै प्रभाव देखाएर उनीहरुले स्नेहासँग मित्रता गाँसेका थिए।
त्यही मित्रताका कारण स्नेहा यतिबेला प्रहरी हिरासतमा पुगेकी छिन्।
आफूहरु प्रभावशाली मान्छे भएको भन्दै साथी बनेका नाइजेरियन युवकहरु डउग्ला अमोबी ओकोरोइगे र जु्लिसय फेसट्युस चिजेक्यू नामुद ठगहरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले स्नेहाको बैंक खाता प्रयोग गर्न साथी बनाएका थिए।
प्रहरीले गत आइतबार दुई नाइजेरियन, स्नेहा र अर्का एक युवकलाई पक्राउ गरेको छ । सो समूहले नेपाली सेनाका जवानदेखि व्यापारीसम्मलाई ठगी गरेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
उनीहरुले नेपाली सेनाका जवान अमृत दाहाललाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीमा जागिर लगाइदिने भन्दै तीन लाख ८९ हजार रुपैयाँ ठगी गरे । नेपाल आउन लागेका चार जना विदेशीलाई पनि उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । दाहालसँग फेसबुकमार्फत चिनजान गरेका उनीहरुले आफूहरु अमेरिकन आर्मी भएको विश्वासमा पारी ठगी गरेका थिए।
त्यस्तै, इमेल ह्याक गरेर पनि उनीहरुले लाखौं ठगी गरेका छन् । अमेरिकन नागरिक अरमिन ओटाको एक हजार ९ सय ८० डलर, फ्रेन्च नागरिकको दुई हजार आठ सय ३५ डलर तथा रसियन नागरिकको पाँच हजार चार सय ८० डलर ठगी गरेको प्रहरीले जनाएको छ । इमेल ह्याक गरी ट्रेकिङ तथा ट्राभल्सलाई पठाउनुपर्ने पैसा स्नेहा श्रेष्ठ र केशव गुरुङको बैंक खातामा हाल्न लगाई उनीहरुले ठगी गर्दै आएका थिए । गुरुङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
ती दुई नाइजेरियन नयाँबजारमा डेरा लिएर बस्थे । नयाँबजारमै खाजा खाने क्रममा उनीहरु र गुरुङबीच चिनजान भएको थियो । त्यही चिनजानले स्नेहा र केशव पनि पक्राउ परेका छन् । नाइजेरियनहरुले उनीहरुलाई पनि केही रकम दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।