ब्युनोस आयर्स– अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी वर्तमान पुस्ताका उत्कृष्ट खेलाडी हुन्। स्पेनिस महारथी क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले अलौकिक खेल प्रदर्शन गर्ने गरेका छन्।
मेसीले गत साता पनि अद्भुत खेल प्रदर्शन गरेर अर्जेन्टिनालाई फिफा विश्वकप २०१८ मा पुर्याए। मेसीले निर्णायक खेलमा इक्वेइडरविरुद्ध ह्याट्रिक गरेका थिए।
अर्जेन्टिनालाई अविश्वनीय रुपमा विश्वकपमा पुर्याएपछि सर्मथकहरुले मेसीलाई सम्मान दर्शउने क्रम जारी छ। मेसीलाई सम्मान दिने क्रममा अर्जेन्टिनाको एक क्लबले अनौठो शैली अपनाएको छ। अर्जेन्टिनाको क्लब साकाचिस्पसका १० खेलाडीले खेलअघि मेसीको अनुहार अंकित मकुन्डो लगाएर फोटोसेसन गरेका छन्। फोटोसेसनमा क्लबका गोलकिपरले भने मकुन्डो लगाएका छैनन्।
साकाचिस्पस अर्जेन्टिनाको प्रिमेरा बी खेल्ने क्लब हो। क्लबका खेलाडीले शनिबार कमुनिकेसिनेस विरुद्धको मैदान उत्रनुअघि मेसीको मकुन्डो लगाएर फोटो खिचेका थिए। फोटोसेसनपछि खेल खेलाडीले भनेका छन्, 'हाम्रो एकमात्र हिरो मेसी हुन्, त्यसैले हामी सबै मेसी हुन चाहन्छौ।'
तर मेसीको मकुन्डो खोलेर मैदान उत्रिएका साकाचिस्पसका खेलाडीले खेलमा हार बेहोरे। खेलमा साकाचिस्पस १–० गोलले पराजित भएको थियो।
गत साता भएको दक्षिण अमेरिकी छनोट समूहमा छैटौं स्थानमा रहेको अर्जेन्टिना यसअघि प्लेअफका लागि पनि छनोट नहुने आशंका बढेको थियो। इक्वेइडरको घरेलु मैदानमा खेल भएका कारण पनि अर्जेन्टिनाको सम्भावनालाई लिएर धेरैले आशंका गरेका थिए। समुद्री सतहभन्दा २८ सय मिटरको उचाइस्थित क्युटो सहरमा खेल भएको थियो।
तर, मेसीले आफ्नो योग्यता फेरि प्रमाणित गर्ने क्रममा ह्याट्रिक गोल गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराएका थिए। इक्वेइडरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको नतिजालाई उल्ट्याउँदै मेसीले १२, २० र ६२ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।