काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरण खेल्न हङकङमा गएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज राति स्वदेश फर्कंदैछ।
नेपाली टिमका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार नेपाली टिम राति १० बजे स्वदेश फर्कन लागेको हो।
हङकङविरुद्धको महत्वपूर्ण २ मध्ये एक खेलमा पराजित र एक खेल वर्षाका कारण रद्द भएपछि नेपाल डिभिजन–२ मा झरेको थियो। हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो। दोस्रो खेल वर्षाका कारण रद्द भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।
यो पनि: डिभिजन–२ मा झरेपछि कप्तान पारसले भने : हामी फेरि माथि उठ्नेछौं
खेल रद्द हुँदा नेपाललाई घाटा परेको थियो। डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरण सकिँदा नेपाल ९ अंक जोडेर छैटौं स्थानमा छ। पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङको १४ अंक भएको छ। यसर्थ अब नेपालले अन्तिम चरणमा युएईलाई दुवै खेलमा पराजित गरे पनि १३ अंक मात्र हुनेछ र चौथो स्थान हात पार्न सक्नेछैन।
डिभिजन–२ फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। सो प्रतियोगिताबाट शीर्ष २ टिम विश्वकप छनोटका लागि छानिनेछन्। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।