काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा भवन भट्ट निर्वाचित भएका छन्।
अर्की प्रतिस्पर्धी उम्मेदवार जमुना गुरुङलाई भारी मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भए। भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरे भने गुरुङले ५ सय ९४ मत प्राप्त गरिन्। जम्मा १ हजार ८ सय ३५ मत खसेको थियो।
नवनिर्वाचित अध्यक्ष भट्ट यसअघि दुई कार्यकालसम्म उपाध्यक्ष थिए। उनी उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र शेष घलेपछि एनआरएनको पाँचौ अध्यक्ष नियुक्त भएका हुन्।
को हुन् भट्ट?
अथक मेहनत र संघर्षको फल मिठो हुन्छ भन्ने प्रतिनिधि पात्र हुन्, भवन भट्ट।
कुनै बेला रेस्टुराँमा भाँडा माझ्ने भट्टको अहिले जापानमा २९० होटल तथा रेस्टुराँ छन्। जो अध्ययनका लागि २० वर्षअघि जापान पुगेका थिए। उनका रेस्टुराँमा अहिले ५ हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन्।
सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी गोरखाबाट जापान गएका थिए।
जापान पुगेपछि उनले क्याम्पस समयबाहेक अरु समय दैनिक गुजाराका लागि पनि खट्न थाले। महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझेको उनी सुनाउँछन्। 'घरमा काम नगरी हुर्केको मलाई भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो,' उनले संघर्षका ती दिन सम्झिए, 'यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो।
भाँडा माझ्दा अरुले भन्दा सफा गरी काम गर्नुपर्छ भन्ने लागेर धेरै मेहनत गरेको उनी बताउँछन्। उनको कामबाट प्रभावित भएपछि साहुले ५० येन बढाएर ७५० पुर्याइदिए। कामप्रतिको लगाव देखेर उनले पछि वेटरमा बढुवा गरिदिए।
यसरी ६ वर्षसम्म फरकफरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न भट्ट सफल भएका हुन्। एउटै ठाउँमा काम गर्दा आलस्य र निराशा बढ्ने सोचेर दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरेको उनले सुनाए।
'विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो,' उनले भने, 'सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना बनाउन थालेँ।'
जापान गएको ६ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ खरिद गरेका थिए। सुरुमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चलायमान बन्यो।
रेस्टुराँबाट आएको फाइदाको रकमबाट नजिकै अर्को रेस्टुराँ किने। यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन्। ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए।
उनले नेपालमा पनि टिबिआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु २ अर्ब लगानी गरिसकेका छन्।
एनआरएनमा आबद्धता
उनी यसअघि एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका थिए। सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे। एनआरएन जापानको अध्यक्ष तथा उनी एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष पनि रहिसकेका छन्।राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।