कलकत्ताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पहाडको स्थायी सामाधानका आफूलाई सुझाव आए सरकारले त्यसबारे छलफल गर्ने बताएकी छिन्।
नवान्नमा विनय तामाङ, अनित थापा लगायत गोरामुमो, गोर्खालिगका प्रतिनिधि र तीन विधायकहरूको उपस्थितिमा भएको बैठकमा उनले पहाडको विकास गर्ने पक्षमा नै राज्य सरकार रहेको बताइन्।
'तपाईँहरूले नै सुझाउनुहोस्, त्यसमा हामी चर्चा गर्छौं। तर समाधान सरकारले नै गर्नेछ,' उनले भनिन्, 'दार्जिलिङ बङ्गालको खास हिस्सा हो। अन्तर्राष्ट्रियस्तरमा दार्जिलिङको नेम र फेम छ।’
पहाडका कुनै पनि दल अशान्ति नचाहने भन्दै उनले आफूहरु पनि विकास, शान्ति र रोगजारकै पक्षमा लागिरेको उनको भनाइ थियो। ‘शान्ति फर्काउन जे पनि गर्नुपर्छ, बैठकमा मिलेर नै गर्नेबारे कुरा भएको छ,' उनले भनिन्, 'दार्जिलिङमा झडपबाट मृत्यु भएकाहरुको क्षतिपूर्तिबारे पनि चर्चा भएको छ।'
उनले बन्दमा तीन महिना काममा नगएका कर्मचारीहरूबारे आफूहरूले कुनै छुट दिने नदिनेबारे अझ छलफल गर्नुपर्ने बताइन्। यसका लागि २१ नोभेम्बरमा सिलगढीको पिन्टेल भिलेजमा अर्को बैठक गर्ने उनले जानकारी दिइन्। केन्द्रले न्यायालयको निर्देशलाई अवहेलना गरेको भन्दै उनले यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसित कुरा गर्ने आश्वासन दिइन्।
‘स्थिति साम्य गर्न समय लाग्छ। बिजेपीको नेता पहाड जानेबित्तिकै उनीहरूको रिपोर्टको आधारमा केन्द्रीय बाहिनी फर्काइयो। हाम्रा पुलिस अधिकारीको मृत्यु भएको छ, प्रचुर हातहतियार, विष्फोटक भेट्टाइएको छ,’ मुख्यमन्त्रीले भनिन्। दार्जिलिङ चिकननेक क्षेत्र भएकाले विमल गुरूङहरूले हातहतियार उत्तरपूर्वबाट ल्याएको उनले दाबी गरिन्।
केन्द्र सरकारले बङ्गाल विभाजन गर्न खोजिरहेको आरोप लगाउँदै बेनर्जीले भनिन्, ‘भाजपाले कुन गेम प्लान गर्दैछ, त्यो हामीलाई थाहा छ, केन्द्रिय बाहिनी फर्काउने निर्णय राजनैतिक र प्रशासनिक दुवै पक्षबाट गलत हो।’
सम्बन्धित समाचार: प्रहरी अधिकारी मारिएपछि दार्जिलिङ अशान्त, शिविरबाटै हतियार बरामद गरेको प्रहरीको दाबी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।