काठमाडौं– अन्तर्राष्ट्रिय गरिबी निर्मूलीकरण दिवसको अवसर पारेर उद्योग मन्त्रालयले भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका २१ वटै स्थानीय तहहरुका प्रमुख, उप प्रमुख र कार्यकारी अधिकृतहरुका लागि ‘उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास मोडेल सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै उद्योग मन्त्री सुनिल बहादुर थापाले विदेश जाने युवालाई उद्यम मार्फत स्वदेशमै रोक्न सकिने र विदेशबाट फर्केका युवालाई लघु, साना तथा मझौला उद्योगमा सहभागी गराई आत्मनिर्भर बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।
कार्यक्रमका अतिथि युएनडिपी नेपालका राष्ट्रिय निर्देशक रेन्युड मेयरले उद्योग मन्त्रालयद्वारा विगत १९ वर्षदेखि सञ्चालित लघु उद्यम विकास कार्यक्रम मार्फत गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम पिटर वड्ले नेपाल सरकारले महिला र पिछडिएका वर्गलाई समावेश गरी सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मार्फत उद्योग मन्त्रालयले गरिबीको रेखामुनि रहेको जनसंख्यालाई माथि उकास्न खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा कार्यपत्र पेश गर्दै मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइरालाले विगत १९ बर्षदेखि उद्योग मन्त्रालयद्वारा सञ्चालित ‘लघुउद्यम विकास कार्यक्रम (मेडेप)’ लाई हाल नेपाल सरकारले आन्तरिकीकरण गरी ७७ वटै जिल्लामा ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)’ को रुपमा सञ्चालन गरिरहेको बताए।
कोइरालाका अनुसार मेडेप र मेड्पा कार्यक्रम अन्तरगत २०७४ भदौ मसान्तसम्म देशभरीमा १ लाख ३० हजार बढी लघुउद्यमी सृजना गरिएका छन्, जसमा महिला, दलित, आदिवासी जनजाति तथा युवाहरुको उल्लेख्य हिस्सा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।