काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झरेको छ।
फिफाले सोमबार जारी गरेको वरीयता सूचीमा नेपाल १ सय ७६ स्थानमा पुगेको हो। यो महिना नेपालले ताजकिस्तानसँग पराजित भएपछि नेपालको स्थान खस्किएको हो। सो खेलमा नेपाल ३–० ले पराजित भएको थियो।
वरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा १ सय ५ स्थानमा छ । यो महिना भारत २ स्थान माथि उक्लियो।
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १ सय ५६ स्थानमा छ। माल्दिभ्स २ स्थान तल झरेको छ। भुटान १ सय ९० स्थानमा छ। भुटान पनि १६ स्थात तल झरेको हो।
बंगलादेश १ सय ९६, श्रीलंका १ सय ९८ र पाकिस्तान २ सय १ स्थानमा छ। पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ। श्रीलंका एसियाको पुछारबाट दोस्रो स्थानमा छ। बंगलादेश पनि एसियाको पुछारबाट चौथो स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ। चौथो स्थानमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम र छैटौं स्थानमा पोल्यान्ड छन्। यस्तै, फ्रान्स सातौं स्थानमा, स्पेन आठौं, चिली नवौं र पेरु दसौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।