काठमाडौं– सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरण नगर्न निर्देशन दिएको हो। भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि त्यसको बिक्रीमा रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए।
_x000D_
_x000D_
तिहारमा अत्याधिक बिक्रीवितरण हुने काठमाडौंका मिठाइ पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्रीवितरण हुने महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा रहेका खाद्य पदार्थको पनि परिक्षण गरेको हो। परिक्षणमा दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन पाइएको थियो।
_x000D_
_x000D_
यसैगरी विभागले बुधबार तीन वटा मिठाइ पसलमा पनि अनुगमन गरेको छ। महाराजगन्जस्थित टिपटप मिठाइ पसल, गौशालास्थित अन्नपूर्ण मिठाइ भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो। अनुगमनका क्रममा तीन वटै मिठाइ पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ। रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य पदार्थमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाइ पसलहरुलाई सचेत गराइएको विभागका महानिर्देशक कर्णले बताए।
_x000D_
_x000D_
मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेका २ वटा मिठाइ पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाइलगायतका खाद्य वस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो।
_x000D_
_x000D_
सरकारले खाद्य स्वच्छता अभियानअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ। सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहीन खाद्य वस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।