हुम्ला – अविरल वर्षाका कारण हुम्लाको सिमकोट–हिल्सा सडक अवरुद्ध भएको छ।
वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो।
नाम्खा गाउँपालिका–३ का स्थानीय कुन्साङ हिसे लामाका अनुसार केर्मी गाउँ नजिकै रहेको कल्भर्टसमेत वर्षासँगै आएको बाढीले बगाएको छ। सडक क्षतिग्रस्त भएपछि सदरमुकाम सिमकोटबाट हिल्सा नाकातर्फ जाने तथा हिल्साबाट सिमकोट आउने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
अविरल वर्षाका कारण गाउँका खेतीयोग्य जमिनमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। स्थानीय छपाक दोर्जी लामाका अनुसार वर्षाले अन्नबाली बगाउनुका साथै ठाउँ–ठाउँमा पहिरो गएपछि गाउँ जोखिममा परेको छ।
यस्तै, गाउँ नजिकै रहेको तातोपानी खोलामा निर्माण गरिएका संरचनासमेत बाढीले बगाएको स्थानीय पेमा लामाले बताए। खोलामा आएको बाढीले आसपासका संरचनामा क्षति पुर्याएको उनको भनाइ छ।
वर्षाका कारण सडक तथा भौतिक संरचनामा क्षति पुगेपछि सिमकोट–हिल्सा नाका जोड्ने यातायात प्रभावित भएको छ। क्षतिग्रस्त सडक खुलाउन तथा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।