काठमाडौं– विश्वका विभिन्न जेलहरुबाट भाग्न सफल सिरियल किलर चार्ल्स गुरुमुख शोभराज यतिबेला केन्द्रीय कारागार सुन्धारामाम कैद जीवन बिताइरहेका छन्। फ्रान्सको स्थायी नागरिकता भएका शोभराज २०६० सालदेखि एक विदेशी नागरिकको बर्बरतापूर्वक हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन्।
_x000D_
_x000D_
तर, यिनै शोभराजलाई असल चालचलन लगायत अन्य कारण देखाउँदै सजायको छुट दिने सिफारिस भएको खुलासा भएको छ। शोभराजले एक मुद्दामा सर्वोच्च अदालतमा पेस गरेको विवरणमा यस्तो खुलासा भएको हो।
_x000D_
_x000D_
केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलले शोभराजलाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो। कैदमा रहेका व्यक्तिले पाउने छुट सुविधा प्रयोग गर्न शोभराजले पनि कारागारमा फाराम भरेका थिए।
_x000D_
_x000D_
राज्यको विशेष अवसरमा कैदमा रहेका बन्दीहरुले विभिन्न आधारमा सजाय छुट पाउने कानुन व्यवस्था अन्तर्गत उनले छुट पाउन लागेका थिए।
_x000D_
_x000D_
२०७५ बैसाख २० गते केन्द्रीय कारागार प्रमुखले कारागार नियमावली २०२० को उपनियम २९ अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधासमेत जोडेर सिफारिस गरेका थिए। उक्त सिफारिस प्रमुख जिल्ला अधिकारीलाई पठाइएको थियो। तर तत्कालीन प्रमुख जिल्ला अधिकारीले कारागार कार्यालयको उक्त पत्र गृह मन्त्रालय पठाएनन्। जिल्ला प्रशासनमै उनको पत्र रोकिएपछि शोभराजले पाउनै लागेको सुविधा रोकिएको थियो।
_x000D_
_x000D_
उच्च अदालत पाटनसमेत शोभराजको पक्षमा
_x000D_
तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई विदेशी कूटनीतिक निकायले समेत चासो राखेर शोभराजको छुटको विषयमा सोधीखोजी गरेपछि रोकिएको थियो। अमेरिक र फ्रान्सका राजदूतावासले समेत उक्त विषयमा तत्कालीन समयमा चासो राखेको थियो। विदेशी चासो र अन्तर्राष्ट्रिय रुपमा निर्दयी अपराधीको रुपमा परिचित भएको उसको पृष्ठभूमि देखेपछि प्रमुख जिल्ला अधिकारी पछि हटेका थिए।
_x000D_
_x000D_
शोभराज त्यसमा चुप रहेनन्। उनले उच्च अदालत पाटनमा सजाय माफीका लागि निवेदन दिए। २०७५ जेठ १० गते शोभराजले बन्दीकै रुपमा रिट निवेदन दायर गरे। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रेवन्तबहादुर कुँवरको एकल इजलासले २०७५ जेठ १३ गते उनीसहित सरकारलाई बोलाउने आदेश गर्यो। त्यसको भोलिपल्टै संयुक्त इजलास शोभराजको मुद्दामा गठन भएको थियो। करिब एक सातामा पेसी आउने उच्च अदालतमा शोभराज भोलिपल्टै पालो आउने भाग्यमानीमा परे। न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र किशोर सिलवालको इजलासले अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम सुनुवाइ गर्न उपयुक्त भएको आदेश गर्यो। त्यसको ठिक एक महिनापछि २०७५ असार २० गते न्यायाधीशद्धय केशवकुमार जोशी र रमेशकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने तर शोभराज ज्येष्ठ नागरिक भएकाले छुट पाउने सुविधा दिनु भनी निर्देशनात्मक आदेश जारी गर्यो।
_x000D_
_x000D_
उच्च अदालतको आदेश पेस गर्दै शोभराजले २०७५ भदौ १७ गते कारागाार व्यवस्थाका महानिर्देशकलाई निवेदन दिए। फैसला कार्यान्वयनका लागि उनले दिएको निवेदनमा कारागारले चलानी नम्बर १०६१ भएको पत्र लेख्यो। कारागार व्यवस्था विभागमा समेत उनले उच्च अदालतको फैसला कार्यान्वयनको निवेदन र कारागारको चलानीपत्र बुझाए। तर महानिर्देशकले शोभराजको निवेदनमा कुनै प्रतिक्रिया जनाएनन्।
_x000D_
_x000D_
शोभराजले सर्वोच्चबाट छुट पाउलान्?
_x000D_
कारागार व्यवस्था विभागवाट कुनै जवाफ नपाएपछि शोभराजले यस्तो सुविधा माग गर्दै सर्वोच्च पुगेका छन्।
_x000D_
_x000D_
सर्वोच्चको एकल इजलासले दुवै पक्षलाई पुन: छलफलमा झिकाएको छ। यो मुद्दा सर्वोच्चमा आएपछि उनले छुट पाउलान्? भन्ने प्रश्न उठेको छ।
_x000D_
_x000D_
शोभराजले रिटमा २६ प्रतिशत मात्र कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा समेत सजाय माफी नभएको जिकिर गर्दै तत्काल रिहा गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। उच्च अदालतको आदेश पालना नभएकाले अदालतको अवहेलना भएको जिकीर उनको छ।
_x000D_
_x000D_
२०६० असोज २ गते देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको दाबी निवेदनमा शोभराजले गरेका छन्। केन्द्रीय कारागार प्रमुखले २०७५ बैसाख २० गते कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधा अन्तर्गत २६ प्रतिशत कैद मात्र बाँकी रहेकाले सिफारिस गरेको तर सुविधा नपाएको उनको दाबी छ।
_x000D_
_x000D_
यस्तो छ शोभराजले पेस गरेको नजिर
_x000D_
शोभराजले उच्च अदालतको फैसला, कारागार नियमावली र अन्य कानुनसँगै सर्वोच्च अदालतको एक फैसलालाई पनि नजिरको रुपमा पेस गरेका छन्।
_x000D_
_x000D_
शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोस नजिर पेस गरेका छन्।
_x000D_
_x000D_
मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। उनी क्यान्सरको गम्भीर बिरामी भएका कारण देखाउँदै उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद ७५ वर्षको वृद्ध भएको आधारमा दिने फैसला सर्वोच्चले गरेको थियो। कारागारमा रहेका उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए। २०७५ भदौ २५ गते उनी रिहा भएका थिए। शोभराजले सोही नजिर देखाउँदै आफू पनि ७० वर्ष उमेर नाघेको ज्येष्ठ नागरिक भएकाले सुविधा पाउनुपर्ने दाबी गरेका छन्।
_x000D_
_x000D_
शोभराजले आफूमात्र त्यस्तो विदेशी कैदी भएको जो १५ वर्षदेखि नेपालको जेलमा रहेको दाबी गरेका छन्। अन्य विदेशी कैदीहरु ८ देखि १० वर्षमा रिहा भएको तर आफूमाथि अन्याय भएको उनको निवेदनमा दाबी छ।
_x000D_
_x000D_
शोभराजको अपराधयात्रा : २० जनाको हत्या
_x000D_
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए।
_x000D_
_x000D_
उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो।
_x000D_
_x000D_
जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेका थिए। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस छाडे।
_x000D_
_x000D_
त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। त्यहाँबाट उनी अफगानिस्तान, इरान, टर्की, ग्रिस लागे। थाइल्यान्डमा तीन पर्यटकको हत्या गरी नेपाल आएका उनले यहाँ पनि २ विदेशी पर्यटकको हत्या गरेका थिए।
_x000D_
_x000D_
२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए।
_x000D_
_x000D_
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।
_x000D_
_x000D_
अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल भएका थिए। २०६० मा नेपाल आउँदा उनी पक्राउ परेका थिए।
_x000D_
_x000D_
उपचारमा राज्यको १४ लाख खर्च
_x000D_
शोभराज मुटु र दमका बिरामी हुन्। उनको मुटुको शल्यक्रियासमेत गरिएको छ। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।
_x000D_
_x000D_
अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर बेदनिधि अधिकारीले बताए। शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।