चितवन– पूर्वी चितवनको रत्ननगरमा अवैध रूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ।
रत्ननगर नगरपालिका वडा नं १३ मा अवैध रूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वर्ल्ड नामक बालगृह बन्द गराउनुका साथै त्यहाँ रहेका ६ जना बालबालिकालाई उद्धार गरिएको हो।
जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक-पटक दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो। सो बालगृहका सञ्चालक ठाकुर पनेरु फरार छन्।
पत्रकार एवं स्थानीयवासीको रोहबरमा बालगृहबाट ५ बालक र १ बालिकाको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उद्धार गरिएका बालबालिकालाई काठमाडौँको पारिवारिक पुनर्मिलन गराउने संस्था हिमाली नवीन समाजमा पठाइएको छ।
केन्द्रीय बालकल्याण समितिको सिफारिसमा ती बालबालिकालाई गए राति नै काठमाडौँस्थित उक्त समाजमा पठाइएको उनले बताए। बालगृहमा रहेका बालबालिका जुम्ला, गोर्खा, दाङ, कास्की र चितवनका हुन्। उनीहरु १० देखि १७ वर्ष उमेरका छन्।
बालगृहमा १८ बालबालिका रहे पनि अहिले दशैँ तिहारका लागि अन्य बालबालिका आफ्नै घर र आफन्तकहाँ गएकाले हाल त्यहाँ भेटिएका बालबालिकालाई मात्रै उद्धार गरिएको थियो।
चितवनमा हाल ३० वटा बालगृह दर्ता भई सञ्चालनमा छन्। ती बालगृहमा ९ सय ४० बालबालिका रहेको समितिले जनाएको छ। दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि केही बालगृह भने छात्रावासको नाममा सञ्चालनमा रहेको बालकल्याण अधिकृत पौडेलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।