काठमाडौं– एनआरएनको नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरु दुवैले उम्मेदवारी दर्ता गरेको प्रवक्ता रञ्जु वाग्लेले जानकारी दिइन्।
भवन भट्ट जापानका सफल ब्यवसायी हुन्। भट्टले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्मा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।
जमुना गुरुङ अष्ट्रेलियाकी धनाढ्य महिला हुन्। उनी एनआरएनका निवर्तमान अध्यक्ष तथा गुरुङका पति शेष घलेसँगै निरन्तर एनआरएनका गतिविधिहरुमा सक्रिय छिन्। लम्जुङमा जन्मिएकी गुरुङ पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अस्ट्रेलिया गएकी थिइन्। अस्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बिआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा आठौं नम्बरमा राखेको थियो।
आजै १ बजेदेखि ६ बजेसम्म निर्वाचन हुने कार्यतालिका छ।
एनआरएनको आठौं सम्मेलन काठमाडौंको हायात होटलमा गत जारी छ। गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन्।
सम्मेलनले सन् २०१७–१९ को लागि नयाँ नेतृत्व चयन गर्ने छ। निर्वाचनबाट १३ पदमा ३९ जनाका लागि निर्वाचन हुने छ।
१४ वर्षअघि गैरआवासीय नेपाली संघको अभियान सुरु भएको थियो। सम्मेलनमा भाग लिन विश्वभर छरिएर रहेका एनआरएनका प्रतिनिधिहरु काठमाडौंमा छन्। एनआरएनको ७७ राष्ट्रमा संगठन विस्तार भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।