काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेर एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्ने विश्वास व्यक्त गरेका छन्।
डब्लुसिएल च्याम्पियनसिपको महत्वपूर्ण खेल वर्षाले प्रभावित बनेपछि नेपाल सोमबार डब्लुसिएल डिभिजन–२ मा झरेको हो। डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत छैटौं चरणमा हङकङविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। जसले गर्दा दुवै टिमले १–१ अंक बाँडे।
सम्बन्धित समाचार : नेपाल डिभिजन–२ मा झर्यो, चार महिनापछि नामिबियामा प्रतिस्पर्धा गर्ने
खेल रद्द भएर डिभिजन–२ मा घटुवा भएपछि हङकङमा पत्रकारहरुसँग कुरा गर्दै पारसले नामिबियामा हुने डिभिजन–२ मा नेपाललाई अर्को मौका रहेको बताए।
'समय, दिमाख र पूर्वाधार जति छ त्यति उपयोग गरेर फेरि माथि उठ्ने छौं,' पारसले भनेका छन्, 'नेपाललाई एकदिवसीय छनोट प्रतियोगितामा पुर्याउने सक्दो प्रयास गर्नेछौं।' डिभिजन–२ मा राम्रो प्रदर्शन गर्न अहिलेदेखि नै योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले हङकङमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे। 'हामी खुसी छैनौं, किनकि राम्रो क्रिकेट खेलेर पनि खेल हारेका छौं,' उनले भने, 'हङकङविरुद्धको खेलमा पनि हामी जित नजिक थियौं। तर हामी चुक्यौं। दुखित छौं, सबैसँग माफी मान्न चाहान्छौं।'
उनले नेपाल फिनिसिङ गर्न चुकिरहेको बताए। 'हामीले राम्रै क्रिकेट खेलिरहेका छौं। राम्रो क्रिकेट खेलेर हार्नुको अर्थ छैन,' पारसले भने, 'जित महत्वपूर्ण कुरा हो।'
राष्ट्रिय टिममा रहेका केही खेलाडीको प्रदर्शनलाई लिएर आलोचना भइरहेका बेला पारसले सकेसम्म राम्रा खेलाडी छानेर अघि बढ्न खोजेको बताए। उनले आगामी दिनमा जो पनि टिममा छनोट हुन सक्ने पनि स्पष्ट पारे।
केही खेलाडीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टिममा पर्न नसकेको प्रश्नको जवाफ दिँदै उनले भने, 'राष्ट्रिय प्रतियोगितमा राम्रो गरे पनि क्लोज क्याम्पमा उनीहरुले राम्रो गर्न सकिरहेका छैनन्।'
पारसले टिमका सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो कोसिस गरिरहेको दबी गरेका छन्। 'हामीले राम्रा खेलाडी छान्ने कोसिस गरिरहेका छौं। सबै मिहिनेत गरेर टिममा परेका हुन्। आगामी दिनमा राम्रो खेल्ने खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिन्छौं,' उनले भने।
डिभिजन–२ को प्रतियोगिता नामिबियामा फेब्रुअरीमा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। सो प्रतियोगिताबाट शीर्ष २ टिमले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।