नवलपरासी– साढे तीन वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउन रकम संकलन अभियान थालिएको छ।
उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ। उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनुपर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेका छैनन्।
त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ। प्रवासी मञ्चको सहयोगमा काठमाडौँ र साउदीमा पनि रकम संकलन जारी छ।
सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ। नवलपरासीमा अहिलेसम्म २१ हजार २ सय रुपैयाँ संकलन भएको जनाइएको छ।
थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो। २०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए।
उनले चलाएको ट्रिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिँदा अर्को सवारी साधनमा रहेका गरी दुई जनाको ज्यान गएको थियो।
थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनापछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताइन्।
काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।