काठमाडौ- नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्ड सहज उडान भर्न पाउने भएका छन्। नेपाल र थाइल्याण्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन्। दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण गर्दा यस्तो व्यवस्था गरिएको हो। सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ।
_x000D_
_x000D_
पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को-अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ)ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
थाइल्यान्डसँग भएको उक्त सम्झौताको औपचारिक जानकारी भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ। थाइल्यान्डको बैङ्ककमा दुईपक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका हुन्।
_x000D_
_x000D_
सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्न सक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन्। यस्तै थाइ पक्षलाई काठमाडौँबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ।
_x000D_
_x000D_
दुवै पक्षले मालवाहक उडान गर्दा कुनै पनि प्रकारको सङ्ख्याको सीमा नतोक्ने, कन्ट्री कोडको आधारमा दुवै पक्षले तेस्रो मुलुकमा उडानको तालमेल मिलाउन सक्ने पनि समझदारी भएको छ।
_x000D_
_x000D_
अब नेपालका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र उत्तर पूर्वी एसियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा दुई वटा दक्षिण पूर्वी एसियाली, उत्तर पूर्व एसियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तब्यपछिको विन्दुको रुपमा पाँचौं हवाई ट्राफिक अधिकार उपयोग गर्न पाउनेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।