काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
हङकङको मङ कङमा आइतबारका लागि तय भएको खेल समुद्री आँधीका कारण स्थगित गरिएको थियो। आँधीपछि आइतबार हङकङमा वर्षा समेत भएको थियो। तर साँझ भने आँधी र वर्षा रोकिएको नेपाली टिमका टेक्निकल रमन शिवाकोटीले जनाएका छन्।
शुक्रबार भएको महत्वपूर्ण खेलमा हङकङसँग ८३ रनले पराजित भएपछि नेपालका लागि डब्लुसिएल च्याम्पियनसिप यात्रा कठिन भनेको छ। च्याम्पियनसिपमा शीर्ष चारमा रहेर एक दिवसीय विश्वकप छनोट र एक दिवसीय मान्यता पाउने नेपालको लक्ष्य अब लगभग सकिएको छ।
थोरै आशा बाँकी रहेको अवस्थामा नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन हङकङ र केन्याले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ। नेपालले तीनै खेल जितेको तथा केन्या र हङकङले बाँकी सबै खेल हारेको अवस्थामा नेपालको शीर्ष चारमा पर्ने सम्भावना रहन्छ।
यही शीर्ष चारमा पुर्न नेपालले सोमबार हङकङविरुद्धको खेलदेखि नै ब्याटिङमा सुधार गर्नु पर्नेछ। किनकि नेपालले शुक्रबार भएको पहिलो खेलमा खराब ब्याटिङ गरेको थियो।
हङकङले दिएको १ सय ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनको झिनो योगफलमा समेटिको थियो। नेपालले पूरा ओभर खेल्न नसकेको मात्र होइन कुनै पनि ब्याट्सम्यानले ३० रन कटाउन सकेका थिएनन्। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाएका थिए। उनले ४६ बलको समाना गर्दा ३ चौका प्रहार गरे। यस्तै ओपनर ज्ञानेन्द्र मल्लले २१, आरिफ शेखले २३, सोमपाल कामीले ११ र विनोद भन्डारी १६ रन मात्र जोडेका थिए।
त्यसो त नेपालका मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर बिरामी परेपछि नेपाललाई घाटा परेको थियो। नेपालले ब्याट्सम्यानको स्थानमा बलरलाई खेलाएको थियो। शरद बिरामी परेपछि उनको स्थानमा हङकङ पुगेका नरेश बुढाऐरले सोमबार खेल्ने सम्भावना छ।
सोमबारको खेलमा पराजित भएको स्थितिमा नेपाल डिभिजन २ मा घटुवा हुने भएकाले नेपालका लागि गर या मरको स्थिति छ। यसर्थ बलिङमा राम्रो देखिएको नेपालले जितका लागि ब्याटिङमा सुधार गर्नुपर्नेछ।
डब्लुसिएल च्याम्पियनसिपबाट अहिलेसम्म नेदल्यान्ड्स र पपुवा न्युगिनी छनोट भइसकेका छन्। अब स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये २ टिम छानिनेछन्। यसमा स्कटल्यान्ड र हङकङको सम्भावना बलियो छ।
विश्वकप छनोटको पहिलो विकल्प लगभग सकिएको अवस्थामा रहेको नेपालसँग दोस्रो विकल्प बाँकी छ। डब्लुसिएल च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसके नेपाल डिभिजन–२ मा झर्नेछ। डिभिजन–२ मार्फत नेपाललाई विश्वकप खेल्ने मौका भने रहनेछ। डब्लुसिएल च्याम्पियनसिप सकिएको एक महिनापछि डिभिजन–२ प्रतियोगिता हुनेछ। नामिबियामा हुने डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। सो प्रतियोगिताका शीर्ष २ टिम विश्वकप छनोटका लागि छानिनेछन्।
नामिबियामा डिभिजन–२ सकिएको एक महिनापछि जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता हुनेछ। डिभिजन–२ मा युएई, नामिबिया, क्यानडा र ओमान तथा डब्लुसिएलबाट घटुवामा परेका बाँकी २ टिमबीच प्रतिस्पर्धा हुनेछ। स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये २ टिम डिभिजन–२ मा झर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।