नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट कप्तान विराट कोहलीले आफ्नो जीवनको थुप्रै रहस्य सार्वजनिक गरेका छन्। उनले क्रिकेट सुरु गर्दा आफूमाथि भएको र्यागिङ, आफूलाई डर लाग्ने बलर र फिटनेशको विषयमा जानकारी दिएका छन्।
भारतबाट प्रसारण हुने जीटिभीलाई विशेष अन्तर्वार्ता दिने क्रममा उनले आफूलाई पाकिस्तानका तीब्र बलर मोहम्मद आमिरसँग डर लाग्ने खुलासा गरेका हुन्। आमिर विश्व क्रिकेटमा अहिले शीर्षमा रहेका ३–४ बलर भित्र पर्छन्।
विराटले भारतीय टिममा डेव्यु गर्ने क्रममा आफूलाई हरभजन सिंह र मुनाफ पटेलले र्याक गरेको बताए।
विराटले डेव्यु गर्दा सचिन तेन्दुलकर चोटका कारण अनुपस्थित थिए। २००८ मा इंग्ल्यान्डको भारत भ्रमणमा उनले डेव्यु गरेका थिए। दोस्रो खेलदेखि सचिन पुनः टिममा फर्किए।
यतिबेला पनि विराट टोलीमै समावेश थिए। ‘जब टिम एकै ठाउँमा थियो, हरभजन र मुनाफले मलाई भने– ड्रेसिङ रुममा आउने नयाँ खेलाडीले सबैभन्दा पहिले सचिनको खुट्टा ढोग्नु पर्छ। म त्यो सुनेर सचिन कहाँ गएको थिए। तर, सचिनले मलाई बीचैमा रोके।’
विराट आफूले फिटनेशमा ध्यान दिनुको कारण पनि खुलासा गरे। ‘२०१२ सम्म मेरो फिटनेश खराब थियो। अस्ट्रेलियापछि हामी बंगलादेश गयौं। यहाँ मैले धेरै रन बनाए। पाकिस्तान विरुद्ध मैले करिअरकै उच्च स्कोर बनाए,’ उनले भने, ‘मलाई लागेको थियो, आइपिएलमा पनि रन बनाउँछु होला। तर, त्यो भएन। यो सबै हुनुमा खराब फिटनेश कारण थियो।’
उनले त्यति बेलासम्म आफूलाई ‘डाइट–ट्रेनिङ’ को विषयमा थाहा नभएको बताए। उनले यसपछि नियमित दुइ घण्टा ‘वर्कआउट’ मा बिताउन थालेको र डाइटमा पनि ध्यान दिएको जानकारी दिए। ‘६ महिना गाह्रो पर्यो। त्यसपछि सबै सामान्य भयो,’ उनले भने।
विराटले भारतीय टिममा आफू सबैभन्दा फिट खेलाडी भएको बताए। भने, ‘म टिमको कप्तान हुँ। मलाई लाग्छ, मैले कुनै खेलाडीलाई राजनीतिक सोचको आधारमा व्यवहार गर्नु हुन्न। १ सय ५० करोड जनसंख्या भएको देशमा मात्र १५ खेलाडी टिम इन्डियाका लागि खेल्छन्। यस्तोमा उनीहरु फिट हुनु आवश्यक छ। म टिमलाई फिट राख्न चाहन्छु।’
विराटले आफ्नो खेल जीवनमा प्रशिक्षक राजकुमार शर्माको उपस्थिति महत्वपूर्ण भएको बताए। ‘उहाँले मलाई सधै प्रेरित गर्नुभयो। कसैले सय रन बनाउँछ भने १ सय ५० रन बनाउनु पर्छ भन्नुहुन्थ्योे,’ उनले भने।
उनले सन् २०११ को विश्वकप फाइनलमा व्याटिङ गर्न जाँदा आफ्नो हात र खुट्टा कापिरहेको खुलासा गरे। ‘सचिन आउट भएपछि पुरै रंगशाला शान्त थियो। मालिङ्गा (लासिथ) बलिङ गर्न आउँदा मेरो खुट्टा कामिरहेको थियो। मनमनै सोचिरहेको थिए, मालिङ्गाले योर्कर बल नफ्याकुन। नर्भस भएकै कारण मेरो व्याट छिटो तल आउँदैन्थ्यो,’ उनले भने। यी सबै खुलासा उनले जीटिभीको एक कार्यक्रममा बलिउड स्टार आमिर खानसँग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।