लो-मान्थाङ (मुस्ताङ)- लो-मान्थाङको मुख्य बस्तीबाट करिब डेढ सय मिटर पश्चिममा एउटा सेतो र चम्किलो भवन देखिन्छ। दरबारजस्तो। गत बिहीबार बिहान यो भवनको अघिल्तिर तीन घोडा र सम्भवतः तिनका मालिक त्यही भवनको गेटको अघिल्तिर उभिइरहेका थिए। घोडाको डोरी समाएर।
_x000D_
_x000D_
घोडाहरु उभिएकै छेउमा बोर्ड टाँसिएको थियो- रोयल मुस्ताङ रिसोर्ट प्रालि।
_x000D_
_x000D_
गेटको भित्रपट्टी सुनसान छ। कोहीकोही बेलामा मात्रै मानिसहरु बाहिर निस्किन्छन्। वरिपरिको पर्खाल र मुख्य भवनको बीचमा निकै ठूलो खाली ठाउँ छ। मुस्ताङ भ्रमणमा जाने पर्यटकहरु रिसोर्टलाई पृष्ठभूमि बनाएर मोबाइल-क्यामेरा तेर्स्याइरहेका देखिन्छन्। भवनकै पृष्ठभूमिमा कतै हिउँ परेकासेता र कतै नपरेका पहेंला मुस्ताङी डाँडाहरु छँदैछन्।
_x000D_
_x000D_
ठूलो र कलात्मक गेट पार गरेर रिसोर्टको भित्री कक्षमा छिर्न सकिन्छ। निकै कलात्मक पेन्टिङ तथा वास्तुकलाले रिसोर्टको भित्री कक्ष, प्यासेज, किचेन लगायतका भागहरु सजिएका छन्। कुर्सी टेबल लगाएका वस्तुहरु पनि कलात्मक देखिन्छन्। ती सबै बौद्ध धर्म तथा स्थानीयसँग जोडिएका संस्कृतिको झल्को दिने खालको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
गेट बाहिरबाट सुनसान देखिने यो भवनभित्र भने निकै चलायमान थियो। पश्चिमाहरुको ओहोरदोहोरले भित्री कक्षमा चहलपहल देख्न सकिन्थ्यो। नेपालीहरु भने फोटो खिचिरहेका मात्रै देखिन्थे।
_x000D_
_x000D_
उपल्लो मुस्ताङका माटोका साना-साना घरहरु मात्र रहेको ठाउँमा टाढैबाट प्रस्ट देखिने यो आलिसान रिसोर्टका सञ्चालक हुन्, मुस्ताङमा पूर्व युवराज जिग्मे सिंवे परवल विष्ट।
_x000D_
_x000D_
विष्ट अहिले ६२ वर्षका भए।
_x000D_
_x000D_
सम्मानित युवराज
_x000D_
२०६२/०६३ सालको दोस्रो जनआन्दोलनअघिसम्म उपल्लो मुस्ताङका राजा जिग्मे पलवर विष्ट शक्तिशाली थिए। लोकप्रिय पनि उत्तिकै थिए। यदाकदा हुने जग्गा किनबेच पनि राजाकै रोहबरमा हुन्थ्यो। मानिसहरुसँग दरबारकै छाप लागेको कागजपत्र छन्। सहयोगी स्वभावका कारण शासक भए पनि उनले सम्मान पाइरहेका थिए। तर, देश गणतन्त्रमा गएसँगै उनले मुस्ताङी राजाको औपचारिक पद गुमाएको पत्र पाए। मासिक ५ हजार भत्ता पनि गुमाए।
_x000D_
_x000D_
तर सरकारले पद र सुविधा खोसेर के भयो? जनताको सम्मान निरन्तर नै थियो। यद्यपि सरकारी पत्रसँगै उनी निष्क्रिय भएका थिए। उनको ०७३ पुष १ मा निधन भइसकेको छ।
_x000D_
_x000D_
राजा पूर्वराजा भएजस्तै युवराज पनि पूर्व युवराज भए। तर, मुस्ताङी जनताको नजरमा भने उनी अझै युवराज नै छन्। संवैधानिक रुपमा उनी युवराज नभए पनि सांस्कृतिक रुपमा उनलाई त्यो सम्मान अहिले पनि प्राप्त छ। उनलाई युवराज नै भनेर सम्बोधन गरिन्छ।
_x000D_
_x000D_
सामाजिक सेवामा सक्रिय भएका कारण पनि जिग्मे सिंवेले युवराजको सम्बोधन पाइरहेका छन्। तर उनी सामान्य जीवन बिताइरहेका छन्। विशेष सम्मानमा खासै रुची देखाउँदैनन्।
_x000D_
_x000D_
स्थानीयलाई भने देशमा गणतन्त्र आउनु वा युवराज अब संवैधानिक युवराज नरहनुसँग उति मतलब देखिन्न।
_x000D_
_x000D_
'देशबाट राजा हटे पनि हामीले हाम्रो युवराज मायाले राखेका हौं', स्थानीय ६७ वर्षिय कर्मा आंगेल गुरुङ भन्छन्, 'उहाँलाई आदर गरेका हौं।'
_x000D_
_x000D_

_x000D_
_x000D_
युवराजप्रतिको सम्मान कतिसम्म छ भने स्थानीयले उनको घाँस नकाटिकन अरुको काटिन्न। कतिपयले पूर्व युवराजको हैकमको निरन्तरता भनेर आलोचना गरे पनि त्यो केवल सम्मान भएको र त्यही रुपमा हेर्नुपर्ने बताउँछन्, स्थानीय कर्मा गुरुङ। 'त्यति सहयोग त हामी गर्छौं', उनी भन्छन्, 'उहाँको पुर्खाले राम्रो काम गरेकैले हाम्रो रोटी र बासको व्यवस्था हुन सक्यो। त्यसको मायाले गाउँलेले उहाँलाई सहयोग गरेका हुन्।'
_x000D_
_x000D_
पहिले नेपाली राजालाई जनताले जसरी सम्मान गर्थे, युवराजलाई यहाँका जनताले त्यसैगरी सम्मान गरिरहेको रिसोर्टका म्यानेजर निमा गुरुङको दाबी छ।
_x000D_
_x000D_
स्थानीयको सबैभन्दा ठूलो चाडपर्व तिजी पर्व, घोडेजात्रामा पनि युवराज मुख्य अतिथिका रुपमा बोलाइन्छन्। उनले आफ्नो घोडा दरबारदेखि चलाउन पाउँछन्, जनताले भने बाहिरदेखि मात्रै चलाउँछन्।
_x000D_
_x000D_
गाउँलेसँग पूर्व युवराज विष्टको सम्बन्ध पनि निकै राम्रो छ। उनी परेका बेलामा गाउँलेलाई सहयोग गर्छन्। सहयोग माग्न जानेलाई कसैगरी पनि निराश बनाउँदैनन्।
_x000D_
_x000D_
गरिबहरुलाई आर्थिक सहयोग गर्नेदेखि तिनका बच्चालाई सहयोग जुटाएर पढ्ने व्यवस्था मिलाउँछन्। माथिल्लो मुस्ताङमा मात्रै १६ वटा 'डे केयर सेन्टर' खोलिदिएका छन्।
_x000D_
_x000D_
'पहिले आमाबाबुहरु खेतको काम जाँदा कतिपयका बच्चा खेल्दाखेल्दै दुर्घटनामा पर्ने गर्थे। अहिले डे केयर सेन्टरमा राखिदिएर ढुक्कले काम गर्न सक्छन्', म्यानेजर गुरुङ बताउँछन्।
_x000D_
_x000D_
जोमसोममा होस्टल पनि खोलिएको छ। त्यहाँ बस्न आर्थिक रुपमा कठिन हुनेहरु निशुल्क नै बस्न पाउँछन्। त्यहाँ अहिले ६० जना बसिरहेका छन्। रिसोर्टको कमाइको केही हिस्सा ती बालबालिकाको निम्ति खर्च हुन्छ।
_x000D_
_x000D_
'संविधानमै नभएको युवराजले कानुन बनाएर शासन गर्न मिलेन', स्थानीय कर्मा गुरुङ भन्छन्, 'तर गरिबका बच्चालाई पढ्न सहयोग पुर्याउनु भएको छ। सरकारी स्कुलका बच्चालाई खाजा दिनुभएको छ। त्यो त राम्रो काम हो नि!'
_x000D_
_x000D_

_x000D_
_x000D_
पूर्वयुवराज परवल विष्ट राजनीतिसँग खासै मतलब राख्दैनन्। त्यसैले कसैसँग विशेष राजनीतिक सम्बन्ध पनि छैन। सञ्चालक भए पनि रिसोर्टमा त्यति बस्दैनन्। प्रायः काठमाडौंमै बस्छन्। मुस्ताङ आएका बेलामा पनि उनी कहिले रिसोर्ट र कहिले दरबारमा बस्छन्।
_x000D_
_x000D_
लो-मान्थाङमा पर्खालले घेरिएको गाउँमा उनी बस्ने दरबार छ। उनको दरबारमा अन्य व्यक्ति पस्न पाउँदैनन्। 'अनुमतिबिना प्रवेश निषेध' भनेर दरबारको गेटमै दुईवटा सन्देश नेपाली र अंग्रेजीमा टाँसिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
दरबार
_x000D_
_x000D_
_x000D_
लो-मान्थाङमै रिसोर्ट किन?
_x000D_
रिसोर्ट लो-मान्थाङमै खोलिनुको पनि खास कारण भएको बताउँछन्, म्यानेजर गुरुङ।
_x000D_
_x000D_
'यहाँ निकै ठूलो लगानी भएको छ। यहाँ लगानी भएको पैसाले त काठमाडौंमा धेरैवटा रिसोर्ट बनाउन सकिन्थ्यो', उनले थपे, 'बच्चाहरु सबै तल (सुविधा सम्पन्न ठाउँहरुमा) पढिरहेका छन्। युवाहरु सबै विदेश गएका छन्। उतै बिहे गर्छन्, जग्गा किन्छन्। उतै बस्छन्। उनीहरुले यहाँको संस्कृति नै जान्दैनन्। भाषा नै बुझ्दैनन्। यहाँ नै यो रिसोर्ट खोलेपछि मान्छे बाहिर जान केही हदसम्म रोकिन्छ। यहीँ नै केही हुन्छ भनेर देखाउन सकिन्छ।'
_x000D_
_x000D_
'यो रिसोर्ट बनाउन नौं वर्ष लाग्यो', म्यानेजर गुरुङ बताउँछन्, 'तर रिसोर्ट सञ्चालनमा आएको भने यो दोस्रो सिजन हो। सन् २०१७ मेदेखि रिसोर्ट सञ्चालनमा छ।'
_x000D_
रिसोर्टमा कामदार सबै त्यहीँका स्थानीय नै छन्। 'यहाँ रिसोर्ट खोलेर निकै राम्रो भयो', स्थानीय कर्मा गुरुङ भन्छन्, 'पर्यटक बढेका छन्। उनीहरुले पनि सुविधा पाए। हाम्रा केही भाइहरुले रोजगारी पाए।'
_x000D_
_x000D_
रिसोर्टमा मुस्ताङी संस्कृति
_x000D_
लो-मान्थाङको खास परिचय हो, 'वाल सिटी'। ठूलो पर्खालले घेरिएको 'कोर' लो-मान्थाङमा १ सय २० भन्दा बढी घर छन्। त्यो बस्तीमा छिर्न केही सीमित गेटहरुमात्रै छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
अंग्रेजी 'एल' आकारको घेरामा 'कोर' लो-मान्थाङ
_x000D_
_x000D_
_x000D_
'कोर' लो-मान्थाङको त्यस पहिचानलाई रिसोर्टले प्रतिनिधित्व गरेको छ। रिसोर्टको संरचना निर्माण गर्दा नै मुस्ताङको संस्कृतिलाई सकेसम्म प्रस्तुत गर्न र जोगाउन खोजिएको छ।
_x000D_
_x000D_
खाना पनि रिसोर्टले सकेसम्म स्थानीय स्तरमै उत्पादन भएको खुवाउने गरेको छ। बरु आवश्यकता अनुसार त्यसलाई 'मोडिफाइ' गरेर फरक स्वाद दिने गरिएको छ। तर, स्वेदशी खाना अन्तर्गतका परिकारहरु मुस्ताङमै उत्पादित हुने गर्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
सिजनमा नेपाली पनि नजाने होइनन्। तर, विदेशीहरुकै रोजाइमा पर्ने गरेको छ, रिसोर्ट।
_x000D_
_x000D_
वरिपरिको रिसोर्टभन्दा यो अलि महंगो भएकाले पनि विदेशीकै बाहुल्य देखिन्छ। कोठा ९० डलरदेखि २ सय ५० डलरसम्मको रहेको म्यानेजर गुरुङ बताउँछन्। 'रिसोर्टमा पाहुना बस्ने २० वटा कोठा छन्', उनी भन्छन् , 'सिजनमा ती प्रायः भरिन्छन्।'
_x000D_
_x000D_
हिउँदमा अत्याधिक चिसो हुने र हिउँ पनि पर्ने भएकाले उपल्लो मुस्ताङमा बढीभन्दा बढी मानिसहरु जोमसोमतिर झर्छन्। त्यहाँ केही महिना जनजीवन बन्दप्रायः हुन्छ। त्यतिबेला त्यहाँका प्राय संस्था बन्द रहन्छन्। रोयल रिसोर्ट पनि वर्षको पाँच महिना बन्द नै हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।