काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने जानकारी दिए ।
उनका अनुसार मंगलबार साँझ ६ बजेसम्म महिला ३०३ र पुरुष २३ सय ५२ जनाको उम्मेदवारी परेको छ । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सुची साँझ ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा प्रकाशित हुनेछ ।
त्यस्तै आयोगले माघ ७ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने तथा सोही दिन ३ बजेदेखि ८ गते बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरेर ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्नेछ ।
त्यस्तै माघ ९ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरी चार बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।