काठमाडौँ – भारत सरकारले नेपाल सरकारलाई ६० भन्दा बढी डबल-क्याब पिकअप सवारी साधन उपहारस्वरूप प्रदान गरेको छ।
भारतले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप उक्त सवारी साधनहरू प्रदान गरेको हो।
गृह मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका हुन्।
गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे। उनले भारत र नेपालबीचको गहिरो सम्बन्धको पनि सराहना गरेका छन्।
नेपाल सरकारको अनुरोधमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत भारत सरकारले निर्वाचन आयोगलगायत नेपालका विभिन्न मन्त्रालय र विभागका लागि उपहारस्वरूप लगभग २,४०० सवारी साधनहरू उपलब्ध गराइसकेको छ।
आगामी निर्वाचनका लागि भारतले उपलब्ध गराउने सहयोगमा करिब ६५० सवारी साधनहरू छन्। बाँकी केही हप्तामा विभिन्न ब्याचमा उपलब्ध गराइने भारतीय दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।