काठमाडाैं– सोलुखुम्बुको लुक्लामा नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३२ करोड रुपैयाँभन्दा बढी लागतमा आधुनिक हेली टर्मिनल भवनसहित हेलिप्याड निर्माण गर्ने भएको छ।
_x000D_
_x000D_
करिब १० रोपनी ४ आनाभन्दा बढी जग्गामा एक तले टर्मिनल भवनसहित हेलिप्याड निर्माण हुन लागेको प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभागमा प्रमुख इन्जिनियर ध्रुवदास भोछिभोयाले बताए।
_x000D_
_x000D_
‘टर्मिनल भवनसहितको हेलिप्याड निर्माणका लागि कम्पनी समेत छनोट भइसकेको छ। कम्पनीले तिहारलगत्तै निर्माणको काम सुरु गर्छ,’ उनले भने।
_x000D_
_x000D_
निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा पाएको छ। निर्माण कम्पनीले काम सुरु गरेको १८ महिनामा भवनसहित हेलिप्याड निर्माण गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने उनले बताए।
_x000D_
_x000D_
नयाँ निर्माण हुने हेलिप्याडबाट एक पटकमा ७ वटासम्म हेलिकोप्टरको उडान तथा अवतरण गर्न सकिने उनको भनाइ छ। नयाँ हेलिप्याड निर्माणसँगै अहिले सञ्चालनमा रहेको हेलिप्याडमा गरी १५ वटासम्म हेलिकोप्टर पार्किङ गर्न सकिने उनको भनाइ छ।
_x000D_
_x000D_
नयाँ निर्माण हुने हेलिप्याडमा पनि पर्यटकीय तथा बढी हेली मुभमेन्ट हुने समयमा १० वटासम्म एकै पटकमा एकले अर्कोलाई अवरोध नगर्नेगरी हेलिकोप्टर उडान तथा अवतरण गर्न सकिने उनको भनाइ छ।
_x000D_
_x000D_
धेरै पहिले लुक्लामा निर्माण भएको हेलिप्याडमा हवाई मुभमेन्ट बढेसँगै उडान तथा अवतरणमा समस्या उत्पन्न भएको थियो। यही कात्तिकको पहिलो सातामा नै हेलिकोप्टर उडान तथा अवतरणमा दुई वटा हेलिकोप्टर एकआपसमा जुध्न पुगेका थिए।
_x000D_
_x000D_
प्राधिकरणले लुक्लामा बढ्दो हेलिकोप्टर मुभमेन्टको व्यवस्थापनसँगै सेफ्टीलाई समेत हेरेर आधुनिक टर्मिनल भवनसहित हेलिप्याड निर्माण गर्न लागेको उनको भनाइ छ।
_x000D_
_x000D_
नयाँ हेलिप्याड र टर्मिनल भवन निर्माणसँगै हेलिकोप्टरको उडान व्यवस्थित बनाउँदै धेरैभन्दा धेरै हेलिकोप्टरको सेवा विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
_x000D_
_x000D_
पछिल्लो समय सगरमाथा आरोहणमा जाने पर्यटक तथा एभरेष्ट ट्रेकिङमा जाने पर्यटकको उद्धारमा लुक्लालाई केन्द्र बनाएर उडान गर्ने हेलिकोप्टरको संख्या बढ्दो छ।
_x000D_
_x000D_
हाल नेपालमा एक दर्जन जति एयर कम्पनीले हेलिकोप्टर सेवा प्रदान गर्दै आएका छन्। केही नयाँ थपिने क्रममा छन्। सञ्चालनमा रहेका हेलिकप्टरको संख्या ३५ वटा रहेको छ।
_x000D_
_x000D_
अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, एयर डाइनेस्टी, माउन्टेन एयर, मनाङ एयर, अल्टिच्युट एयर, हेली एभरेष्ट, भीआइपी, कैलाश हेलिकोप्टर र प्रभु हेलिकोप्टर कम्पनीले हेली सेवा दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।