काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्को पछिल्लो अवस्था र सरकारले गरिरहेको उद्धार तथा व्यवस्थापनबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि अहिलेसम्म विभिन्न विपद्का घटनामा परी २१ जनाको मृत्यु र ५ जना बेपत्ता भएका छन्। म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा मानवीय क्षति भएको उनले बताएका छन्। घाइते पाँच जनाको निःशुल्क उपचारको व्यवस्था गरिएको उनको भनाइ छ।
४३९ विपद्का घटना, पूर्वाधारमा व्यापक क्षति
प्रधानमन्त्रीका अनुसार बाढी, पहिरो, डुबान र चट्याङसँग सम्बन्धित ४३९ वटा मनसुनजन्य घटना भएका छन्। गाउँदेखि सहरसम्म डुबानको अवस्था देखिएको तथा सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीमा क्षति पुगेको उनले बताएका छन्।
मनाङको हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र घटनाबारे विवरण संकलन भइरहेको शाहले उल्लेख गरेका छन्। विपद्मा फसेका नागरिक तथा पशुचौपायाको उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको र प्रभावित परिवारका लागि स्थानीय तहसँगको समन्वयमा अस्थायी बसोबासको व्यवस्था गरिएको उनले बताएका छन्।
१ हजार मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित
बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण बन्द भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राखेर ६९५.२ मेगावाट क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा बन्द गरिएको उनले बताएका छन्। विद्युत् सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सडकदेखि अन्तर्राष्ट्रिय आवागमनसम्म प्रभावित
नारायणी नदीमा बाढीका कारण क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीस्वरूप पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको शाहले बताएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथसहित विभिन्न सडक बाढी तथा पहिरोबाट प्रभावित छन्।
महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ। सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा पनि यातायात प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन्।
‘खतरा अझै टरेको छैन’
प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बस्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परे निःशुल्क १२३४ नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।
उनले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि निगरानी भइरहेको बताएका छन्।
‘खतरा अझै टरेको छैन, जोखिम कायमै छ’ भन्दै शाहले धैर्य, संयम र एकताका साथ विपद्को सामना गर्न सबैमा अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।