काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी वडा अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको मापदण्ड तय गरेको छ। क्रियाशील सदस्यको संख्यालाई आधार बनाएर प्रत्येक वडाबाट निर्वाचित हुने प्रतिनिधिको संख्या निर्धारण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार एउटा वडाबाट न्यूनतम २१ र अधिकतम ७५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। १५० जनासम्म क्रियाशील सदस्य रहेका वडाबाट २१ जना प्रतिनिधि चयन हुनेछन् भने ६५१ भन्दा बढी क्रियाशील सदस्य भएका वडाबाट ७५ जना प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ।
क्रियाशील सदस्यको संख्या बढ्दै जाँदा सोही अनुपातमा प्रतिनिधिको संख्या पनि बढ्ने व्यवस्था गरिएको छ।
प्रतिनिधि छनोटमा प्रत्यक्षसँगै समानुपातिक प्रतिनिधित्वलाई समेत समेटिएको छ। नवयुवा, महिला, अपाङ्गता भएका व्यक्ति, विज्ञ तथा श्रमिक, प्रजातन्त्र सेनानी, जनआन्दोलनका घाइते, द्वन्द्वपीडित र सहिद परिवारका लागि छुट्टाछुट्टै समूहगत प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
त्यसैगरी, ४० वर्षमुनिका युवा प्रतिनिधित्वलाई समेत अनिवार्य बनाइएको छ। प्रत्येक वडाबाट कम्तीमा एक महिला र एक पुरुष युवा प्रतिनिधि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।