काठमाडौं- फिल्म लेखक मौनता श्रेष्ठले ‘पिँजडा ब्याक अगेन’का गीत रिलिज हुनुअघि फेसबुकमा स्ट्याटस लेखे, ‘हाम्रो फिल्मको लोकगीत रिलिज हुन दुई दिन मात्रै बाँकी छ।’ उनको अभिव्यक्तिमा ‘फिल्ममा लोकशैलीको गीत राखिएको छ, त्यसैले फिल्म भरपुर मनोरञ्जक छ’ भन्ने आशय झल्किन्थ्यो।
श्रेष्ठ तिनै फिल्मकर्मीहरुको प्रतिनिधित्व गर्छन्, जो प्रयोगभन्दा पनि फर्मुला फिल्ममा विश्वास राख्छन्। ‘चार गीत, चार फाइट’वाला यस्ता फिल्म अघिल्लो वर्षसम्मै ‘आइटम गीत’ अनिवार्य थियो र फिल्मको ‘प्रमोशन’ पनि तिनै गीतबाट गरिन्थ्यो।
पछिल्ला दिनहरुमा भने नेपाली फिल्मको प्रचार गर्ने गीत फेरिएका छन्। आइटमको ठाउँ लोकधुनमा आधारित गीतले लिइरहेको देखिन्छ। ‘वडा नं ६’को ‘सुर्केथैली खोइ’, ‘दुई रुपैयाँ'को ‘कुटुमा कुटु’, ‘पुरानो डुंगा’को ‘निर जैल्यै रिसाउने’, ‘नाइँ नभन्नू ल–३’को ‘कम्मरमाथि पटुकी’ यसका उदाहरण हुन्।
व्यावसायिक नेपाली फिल्ममा प्रासंगिकभन्दा पनि ‘चटनी’का रुपमा गीत प्रयोग हुँदै आएको छ। धेरै फिल्मका निर्देशक र लेखकले दर्शकलाई ‘ब्रेक दिनुपर्छ’ भनेर गीत घुसाउने गरेका छन्।
गीतको लोकप्रियताले फिल्मको व्यापारमा टेवा पुर्याएका प्रशस्त उदाहरण छन्। ‘रेशम फिलिलि’को ओपनिङ बम्पर हुनुका पछाडि ‘पारि त्यो डाँडामा’ भाइरल हुनु हो।
यो गीतको चर्चाले नेपाली फिल्ममा दुई वटा मान्यता स्थापित गरिदिएको छ। पहिलो, गीत हिट भयो भने फिल्म हिट हुने सम्भावना बढ्छ र दोस्रो, लोकधुनमा आधारित गीत फिल्ममा राख्दा पनि रुचाइन्छ।
यो गीतपछि फिल्ममा निरन्तर लोकधुनमा आधारित गीतले स्थान पाइरहेका छन् भने चर्चाको शिखरमा पनि यही शैलीका गीत छन्। अहिले लोकप्रियताको एउटा मापदण्ड ‘युट्युब भ्यु’मा करोड कटाउने गीतहरु लोकधुनमा नै आधारित छन्।
पछिल्लो समयका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटा नेपाली फिल्ममा मौलिक सिर्जनाको युग फर्केको बताउँछन्। भन्छन्, ‘पहिले पनि नेपाली फिल्ममा लोकशैलीका गीत नै हिट भएका थिए। केही समय यस्ता गीतसंगीतले ठाउँ पाएनन्। फेरि युग फर्किएको छ।’
मौलिक स्वादका गीतको लोकप्रियता बढेसँगै यस्तो शैलीका संगीतकारको माग बढेको छ। फिल्मको व्यावसायिक सफलताका लागि यस्तो गीत अनिवार्य हुँदै गएको निर्माता-निर्देशकले महसुस गर्न थालेका छन्। ‘यस्तै प्रकारको गीत चाहियो’ भनेर संगीतकार राजनराज शिवाकोटीको दैलोमा धेरै निर्माता-निर्देशकहरु पुग्ने गरेका छन्।
ट्रेन्डका पछाडि कुद्ने फिल्मकर्मीका कारण संगीतमा हुने प्रयोगमा धक्का पुग्ने शिवाकोटीले पनि महसुस गरेका छन्। आफूले लोकगीत नभई लोक संगीतलाई आधार बनाएर मौलिक शब्दमा आधुनिक बाजा र प्रविधि मिसाएको उनी बताउँछन्। भन्छन्, ‘मैले यस्तो प्रयोग गरेँ। जुन नयाँ स्वाद भयो र रुचाइयो।’
आधुनिक गायिकाका रुपमा चर्चित अञ्जु पन्तका स्वर अहिले चलेको संगीतको ट्रेन्डमा धेरै सुन्न पाइन्छ। 'लोक संगीतले फिल्ममा स्थान पाएकोमा खुसी लागेको छ। अब हाम्रो क्षेत्रीय संगीतहरु पनि यसैगरी घुस्दै जानुपर्छ,' ‘सुर्के थैली खोइ’की गायिका भन्छिन्, 'पूर्वेलीदेखि पश्चिमा देउडा, कौडासम्ममा मिठास फिल्मले अपनाउनुपर्छ।’
आफूहरुको शैली रुचाइएकोमा संगीतकार बास्कोटालाई गर्व त लागेको छ तर सबै फिल्मकर्मी यही शैलीको पछि लागे दीर्घकालीन रुपमा हानि पुग्ने देखेका छन्। यस्ता गीतलाई फिल्म प्रचारको हतियार बनाइरहँदा फिल्मलाई नै घाटा पुग्न सक्ने उनको चिन्ता छ। उनलाई लाग्छ, ‘सन्दर्भ अनुसार गीत आयो भने त रमाइलो लाग्ला। गीत एक प्रकारको भएर हिट हुने, त्यही आधारमा दर्शक हलमा जाने तर फिल्म त्यो अनुसारको भएन भने दर्शक भड्किन्छन्।’
फिल्म क्षेत्रमा सिर्जनशीलतालाई अपनाउने, सिर्जनात्मक प्रयोग गर्ने भन्दा पनि ट्रेन्डको पछि दौडिने प्रचलन छ। यसकारण बास्कोटाको डर अस्वाभाविक होइन।
‘हिट’को पछि हिँड्ने क्रम नेपाली फिल्ममा रोकिएको छैन। ‘चपली हाइट’को रोमान्सलाई छाडापनमा ल्याएर टुंग्याइसकिएको छ। ‘लुट’को प्रयोगलाई लुट्ने माध्यम बनाएर सकाइसकिएको छ। यही तरिकाले अघि बढ्ने हो भने संगीतमा आएको यो ट्रेन्डको हालत पनि त्यस्तै हुने पक्का छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।