काठमाडौं– लगातारको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक भिजिबिलिटी नपुगेपछि फ्लाई दुबईले शुक्रबारको दुबई–पोखरा–दुबई उडान स्थगित गरेको छ।
विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार दिनभर मौसम प्रतिकूल रहँदा आन्तरिक उडानसमेत प्रभावित भए। साँझ बुद्ध एयरका तीन उडान भने सञ्चालन भएका थिए।
पोखरा विमानस्थलमा आईएफआर उडानका लागि कम्तीमा ३१०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। शुक्रबार त्यो अवस्था नबनेपछि फ्लाई दुबईले दुबईबाटै पोखराको उडान रोक्ने निर्णय गरेको हो।
फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। शुक्रबारको उडानमा दुबईबाट ९५ जना पोखरा आउने र पोखराबाट ९० जना दुबई जाने तयारीमा थिए।
मौसममा सुधार आएपछि उडान नियमित हुने विमानस्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।