काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् । साथै नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्न सहयोग गर्ने बताएका छन् ।
सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि मोदीले यस्तो घोषणा गरेका हुन् ।
नेपालमा गत अगस्टमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले पुनर्निर्माण र दीर्घकालीन विकासलाई गति दिन भारतले सहयोग गर्ने बताए ।
उनले नेपालमा स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र र आईआईटीको अफसोर क्याम्पस स्थापना गर्ने घोषणा गरे । नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयका छात्रवृत्तिका अवसरसमेत बढाइने उनले बताए ।
त्यस्तै, खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा एग्र्रो–इन्डस्ट्रियल पार्क विकासमा पनि भारतले सहयोग गर्ने भएको छ ।
भारत–नेपाल सम्बन्धलाई साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडेको उल्लेख गर्दै मोदीले भगवान् राम र माता सीतालाई दुई देशको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा व्याख्या गरे ।
उनले भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई पारिवारिक आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताए । दुवै देशका खुसी र चुनौती साझा रहेको भन्दै उनले कठिन परिस्थितिमा एकअर्कालाई साथ दिँदै विकासका साझेदारका रूपमा अघि बढिरहेको उल्लेख गरे ।
मोदीले भारतले वर्षौंदेखि नेपाललाई पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक सामग्रीको भरपर्दो आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको पनि बताए । यस वर्ष तेल आपूर्तिमा गम्भीर चुनौती आए पनि ‘नेबरहुड फर्स्ट’ नीतिअनुसार नेपालमा इन्धन, मल र अन्य आवश्यक वस्तुको आपूर्ति निरन्तर राखिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, लगानी, शिक्षा, स्वास्थ्य, कृषि तथा सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा दुई देशबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।