काठमाडौं– बुधबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनका दूरसञ्चार सेवा प्रभावित भएका छन्। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सेवा सुचारु गर्न मर्मत तथा प्राविधिक काम तीव्र पारेको जनाएको छ।
टेलिकमका अनुसार प्रभावित १५२ साइटमध्ये ९२ वटा सञ्चालनमा आइसकेका छन् भने ६० वटा अझै सञ्चालनमा आउन बाँकी छन्। चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आउन बाँकी छन्।
रसुवाका विभिन्न क्षेत्रमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत उपकरण पठाएर सेवा सुचारु गरिएको छ। धुन्चे, नुवाकोट र धादिङका प्रभावित साइटमा समेत जेनेरेटर, इन्धन र प्राविधिक कर्मचारी परिचालन गरिएको टेलिकमले जनाएको छ।
बाँकी साइट पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।