२०५० को दशक नेपाली पप संगीतका लागि स्वर्णिम समय थियो । त्यो समय थुप्रै पप गायक र ब्यान्ड अस्तित्वमा देखिए । पप गीत–संगीतलाई राम्रो नजरले नहेरिने त्यो बेला युवा पुस्तामाझ यसले राम्रो छाप छोड्यो । यसैको मध्यतिर २०५५ सालमा रिलिज भएको एउटा गीत धेरैको मनमा बस्यो-
‘बसमा छैन मेरो मन
बढ्छ झन् झन् मेरो धड्कन
खोजी रहन्छ, पागल मन
तर कसलाई किन कुन्नि, थाहा छैन ।’
गीतका गायक थिए, राजन इशान । त्यही एउटा गीतले राजनलाई युवाहरूको ढुकढुकीमा बसायो।
पहिलो पटक प्रेममा पर्नेहरूका लागि त उनको यो गीतले बिरामीलाई ग्लुकोज चढाए झैं ऊर्जावान् बनायो । राजनलाई यो गीत गाउन आफ्नो परिवार, विशेष गरेर आमासँग ठूलै संघर्ष गर्नुपर्यो।
गीत उनकी दिदी रोहिणी राणाले लेखेकी थिइन् । संगीत उनी आफैंले भरेका थिए । राजन त्यतिबेला बेरोजगार थिए । यसै पनि त्यतिबेला गीत गाउने कर्मलाई आवारागिरीको उपमा दिइन्थ्यो । उनकी आमालाई पनि यस्तै लाग्थ्यो।
छोराको रूचि उनलाई निको लागेको थिएन । राजन एल्बम निकाल्न चाहन्थे । दिदीलाई संगीत मनपर्थ्यो । त्यसैले आमा फकाउने काम दिदीले नै गरिदिइन्।
दिदीको हौसलाबाट अगाडि बढेका राजनले एल्बमको नाम नै दिदीको नाममा समपर्ण गरे । राजनको यो गीत रिलिज भएको १८ वर्ष बितिसक्यो । उनको गीत सुन्दै हुर्किएका युवाहरुमध्ये धेरैले राजन इशानको अनुहार बिर्सिसके होलान् । तर, उनको गीत अहिले पनि कतै सुन्दा उनीहरु आफ्नो बैशालु दिनमा फर्किने गरेका छन्।
’रोहिणी’ एल्बममा समाविष्ट यो एउटै गीतले उनलाई रातारात ख्यातिको शिखरमा पुर्एयाको थियो। डेब्यू गायनमा लोभलाग्दो सफलता हात पारे पनि इशानले गायनमा आफूलाई खुम्च्याउन चाहेनन् । त्यसैले होला, आज उनी देशका महँगा म्युजिक एरेन्जर बनेर देखिएका छन्।
उनी भन्छन्, ‘पहिलेदेखि नै मेरो रूचि म्युजिक एरेन्जमा थियो । मलाई यसैमा मजा आउँछ । गायन छाड्दा संगीतबाट हराएको भान पर्छ तर म हिजो जस्तै आज पनि संगीतमा रमाइरहेको छु। भूमिका फरक भएको मात्र हो।’
यस अवधिमा उनले दुई वटा एकल एल्बम गर्न भ्याए, ’रोहिणी’ र ’इशान’।
‘किन हो, मेरो मन गायनभन्दा एरेन्जमेन्टमा रमायो । फाट्फुट्ट गीत त अहिले पनि गाइरहेको छु । लोकप्रियता मेरो रोजाइमा कहिल्यै परेन। म चुपचाप काम गर्न रूचाउँछु,’ उनले नेपाल लाइभसँग भने।
राजनको केही वर्षयता संगीतबाहेक पनि अर्को विद्या थपिएको छ । संगीतकर्ममा सफल भएपछि उनी यतिबेला अभिनयमा पनि आफ्नो भाग्यपरीक्षा गरिरहेका छन् । ४ वर्ष अघि ‘कर्कश’ फिल्मबाट उनको अभिनय यात्रा सुरु भएको थियो । हालसम्म उनले ४ वटा फिल्म खेलिसकेका छन्।
‘अभिनयको विषयमा मैले केही सोचेको थिइनँ । एकदिन साथी आसिफ साहले मलाई भन्यो, तैले मेरो फिल्ममा काम गर्नुपर्छ’, उनले अभिनयमा आउनुको कारण खोतले,‘ तैंले गर्न सक्छस्, तँ भित्र कलाकार लुकेको छ भनेर उसैले मलाई घचघचाएको हो।’
उनले अहिलेसम्म ‘आवरण’, ‘दुई रूपियाँ’ तथा ‘रूद्रप्रिया’ मा अभिनय गरेका छन् । संख्याका हिसाबले ४ भए पनि उनी ४ वटै फिल्ममा भिन्न पात्रको रुपमा देखा परेका छन् । उनी पहिलो फिल्ममा एक भ्रष्ट प्रहरीको भूमिकामा देखा परेका थिए । ‘दुई रूपैयाँ’ मा झिम्रिक दाइको कमेडी भूमिकाका उनको अभिनयले खूब तारिफ बटुलेको थियो।
एरेन्जमेन्ट विद्यामा लामो समय लाग्दा कोठाभित्र हराएका राजनलाई फिल्मका कारण अहिले उनका पुराना फ्यानहरुले फेरि चिन्ने अवसर पाएका छन्।
‘मेरा शुभचिन्तकहरुको नजरमा पुनः फर्किन पाउँदा खुसी लागेको छ। म अभिनयमा पनि आनन्द मानिरहेको छु,’ उनले भने।
आगामी साता लक्ष्मीपूजाको दिन ‘रूद्रप्रिया’ रिलिज हुँदैछ । राजन फिल्मका मुख्य अभिनेता हुन् । यस फिल्ममा आफ्नो इन्ट्रीलाई उनी नसोचेको घटना भन्न रूचाउँछन्।
‘म फिल्मसँग सुरुमा एरेन्जरको रूपमा जोडिए तर पछि एउटा महत्वपूर्ण कलाकार बन्न पुगे । यो त मेरा लागि सीधै सञ्जय लीला भन्सालीको फिल्म खेले जस्तो भयो।’
फिल्ममा उनी ’नारायण’को भूमिकामा छन् । उनीसँगै आर्यन सिग्देल र अभिनेत्री रेखा थापा जस्ता नेपाली फिल्मका सुपरस्टार छन् । उनीहरू हाराहारीको बलियो रोलमा उनी देखा पर्दै छन्।
‘स्टोरी सुन्दै लोभ लागेर आयो । तर मलाई गर्न सक्दिनँ कि भन्ने डर थियो । निर्देशक सुटिप बबी भुपाल सिंहले कन्भिन्स गराउनु भयो’, उनी भन्छन्।
अभिनेता, एरेन्जरसँगै उनी ‘रूद्रप्रिया’ का व्याकग्राउन्ड स्कोरर पनि हुन्।
राजन यतिबेला गायक, एरेन्जर, संगीतकार र अभिनेताको परिचयबाट खुसी छन् । उनी संगीत आफ्नो कर्म भएको बताउँछन् र यो निरन्तर रहने स्पष्ट पार्छन् । गत वर्ष उनी विश्व चर्चित संगीत अवार्ड ग्रामी रेकर्डसको भोटर बन्न पुगेका थिए । नेपालबाट यो सूचीमा पर्ने उनी एक्ला संगीतकर्मी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।