सुर्खेत– प्रहरीले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार घटनासम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको हो ।
गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य तीन जनालाई समेत पक्राउ गरी अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । उनले प्रतिवेदनको निष्कर्षबारे भने केही खुलाउन चाहेनन् ।
प्रहरीले निष्कर्ष सार्वजनिक नगरेपछि पीडित परिवार सशंकित बनेको छ । परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ । इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।