इटहरी– चाडपर्वको मौसममा अत्याधिक बिक्री हुने कम्प्युटर, मोबाइललगायत इलेक्ट्रोनिक्स सामानको व्यापार यसपालि ओरालो लागेको व्यवसायीहरु बताउँछन्। दसैँ, तिहारलगायत पर्वको छेको पारेर विज्ञापनमा होडबाजी गर्ने कम्पनीहरू पनि यसपटक मौनजस्तै छन्। तर, सीमावर्ती भारतीय बजार भने उत्साहजनक देखिएको छ।
_x000D_
_x000D_
मोबाइललगायत इलेक्ट्रोनिक्स सामानमा ‘भ्याट रिफन्ड’मा रोक लगाएसँगै नेपाली बजारमा व्यापार ओरालो लागेको व्यवसायीहरु बताउँछन्। सरकारको ‘भ्याट रिफन्ड’ नगर्ने कार्यक्रम कार्यन्वयन भएसँगै नेपाली बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्य बढेको हो। त्यसले गर्दा सीमा क्षेत्रका भारतीय बजारबाट मोबाइल तस्करी मौलाएको छ।
_x000D_
_x000D_
विगतमा सामान नेपाल भित्रिएसँगै सरकारले लिने १३ प्रतिशत भ्याटमा ४० प्रतिशत बराबरको मूल्य ‘रिफन्ड’ हुने प्रावधान थियो। तर, आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ‘भ्याट रिफन्ड’को व्यवस्था हटेको छ।
_x000D_
_x000D_
दसैं, तिहारलगायत पर्वका समयमा अत्याधिक बिक्री हुने इलेक्ट्रोनिक्स सामानको व्यापारमा कमी आएसँगै त्यसको असर व्यापारीलाई त परेको छ नै, मूल्य वृद्धि भएसँगै आम उपभोक्तासमेत मारमा परेका छन्।
_x000D_
_x000D_
यसअघि कम मूल्यमा पाइने सामानको दाम बढेको छ। ‘भ्याट रिफन्ड’को आशामा कम मूल्य राखेर प्रतिस्पर्धा गर्ने कम्पनीहरूले इलेक्ट्रोनिक्स सामानको मूल्य बढाएका हुन्। नेपाली बजारमा यस्ता सामानको मूल्य बढेसँगै भारतीय सीमावर्ती बजारहरु जोगवनी, पानीट्याङ्कीलगायतमा भने व्यापार फस्टाएको छ। जसको प्रत्यक्ष मारमा नेपाली व्यापारीहरु परिरहेका छन्।
_x000D_
_x000D_
सोझो हेराइमा ‘भ्याट रिफन्ड’को व्यवस्थाले सरकारको आम्दानी भएको देखिए पनि यसले सरकार देखि आम उपभोक्तासम्मलाई घाटा भइरहेको बताउँछन् महालक्ष्मी इलेक्ट्रोनिक्स, धरानका सञ्चालक भरत अग्रवाल। नेपाली बजारमा मूल्य बढेसँगै व्यापारमा गिरावट आएका कारण राजश्व गुम्न थालेको उनले दाबी गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
भारतीय र नेपाली बजारमा समान मूल्य कायम गर्न भन्दै ‘भ्याट रिफन्ड’को व्यवस्था हटाइए पनि खुल्ला सीमाका कारण त्यो सम्भव नभएको एटुजेड मोबाइल केयर, विराटनगरका सञ्चालक जगदीश डागाले बताए। पहिले २० हजार रुपैयाँ पर्ने मोबाइल अहिले २२ देखी २५ हजारसम्ममा बेच्नुपरेको उनको भनाइ छ। ‘अन्य समयमा घट्दो दरमा रहने मोबाइलको मूल्य यसपटक भने वृद्धि भइरहको छ।,’ उनी भन्छन्, ‘यसको कारण भारतीय बजारबाट नेपाल भित्रिने मोबाइलको दुइ नम्बरी कारोबार हो।’
_x000D_
_x000D_
‘भ्याट रिफन्ड’ले सबैभन्दा बढी मोबाइल बजार प्रभावित भएको देखिएको छ। जसले गर्दा भारतीय बजारमा सस्तो दरमा पाइने मोबाइलको कालोबजारी फस्टाउन थालेको छ। नेपाली व्यापारीले ‘भ्याट रिफन्ड’ पाउन छाडेपछि पुरानो मूल्यभन्दा बढाएर सामान बिक्री गर्ने गरेका छन्। जसको कारण विगत वर्षमा भन्दा ४० प्रतिशतले मोबाइलको व्यापार कम भएको व्यवसायीहरुको भनाइ छ। एक÷दुई वटा खुद्रा मोबाइल ल्याउने र नेपाली बजारमा बेच्ने काम व्यापक भइरहेको पनि उनीहरू बताउँछन्।
_x000D_
_x000D_
हेर्दा सामान्य देखिए पनि यसले अर्थतन्त्रमा गम्भीर असर गर्ने अर्थविद डा भेषप्रसाद धमलाको भनाइ छ। कालोबजारीको कारण नेपाली बजार सुस्ताउने अवस्था आउनु अर्थतन्त्रको गम्भीर समस्या रहेको उनले बताए। यसले भुक्तान सन्तुलन बिगार्ने हुँदा देशकै अर्थतन्त्र धरासायी हुने उनको तर्क छ।
_x000D_
_x000D_
‘नेपालको कर नीति स्पष्ट हुन सकेन। झट्ट हेर्दा फाइदा देखिने भ्याट रिफन्डको रोकले दूरगामी असर गर्ने देखिएको छ।,’ उनी भन्छन्, ‘अवैध बाटोबाट नेपालको पूँजी बहिर्गमन भयो। जसले गर्दा व्यापार घाटा बढ्ने निश्चित छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।