काठमाडौं– अविरल वर्षापछि खसेको पहिरोले म्याग्दीमा घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्।
अन्नपूर्ण गाउँपालिका-३ फगाममा आज बिहान करिब ९:३० बजे माथिबाट आएको पहिरोले गंगाबहादुर पाइजाको घर पुरेको हो।
प्रहरीका अनुसार पहिरोमा परी घरमा रहेका चार जनामध्ये ७५ वर्षीया शिलकुमारी गर्बुजाको मृत्यु भएको छ। उनको शव बिहान करिब ११:३० बजे फेला परेको प्रहरीले जनाएको छ।
सोही घटनामा ५४ वर्षीया योमाया पुर्जा बेपत्ता भएकी छन्। घरमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय दाना, म्याग्दीबाट प्रहरी सहायक निरीक्षक जुद्धबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। टोलीले बेपत्ता महिलाको खोजी तथा उद्धारको काम अघि बढाइरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दानाबाट करिब आठ किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।